प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

भक्तपुर न्यूज

२४ जेठ २०८१ २:४९

प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्रीद्वयबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएको थियो । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएको छ । “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ ।”

भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै भारतीय राजदूतावासले जनाएको छ । लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ ।

मोदी लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएको छ । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको छ ।

बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ । यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा २ सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ । भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् ।

भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो । एनडिएको बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, भाजपा नेता अमित शाह, राजनाथ सिंह, जनता दल (युनाइटेड) प्रमुख नितिश कुमारलगायत भाजपाका सहयोगीहरू तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडू, शिवसेना प्रमुख एकनाथ शिन्दे, जनता दल (युनाइटेड) लगायतका नेताहरू सहभागी थिए ।

बैठकमा धर्मनिरपेक्ष नेता एचडी कुमारस्वामी, जनसेना पार्टी प्रमुख पवन कल्याण, लोक जनशक्ति पार्टी (रामविलास) प्रमुख चिराग पासवान, राष्ट्रवादी काङ्ग्रेस पार्टी (अजित पवार गुट) नेता प्रफुल्ल पटेललगायत अन्य एनडीएनिकट दलहरूको सहभागिता थियो । यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गरेकी छन् । यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएको थियो । राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन दिएकी छन् । त्यस्तै विपक्षी गठबन्धन इन्डिया ब्लकको बैठक बुधबार साँझ दिल्लीमा बोलाइएको छ । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावी नतिजा र त्यसपछिको रणनीतिबारे छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *