भ्रष्टाचार मुद्दा दर्ता भएसँगै गोदावरीका मेयर र उपमेयर एकैसाथ निलम्बित

भक्तपुर न्यूज

२२ जेठ २०८१ ९:३६

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै गोदावरीका मेयर र उपमेयर एकैसाथ निलम्बित

काठमाडौैं । भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा फर्कन पाउनेछन् ।

मेयर र उपमेयर नै निलम्बनमा परेकाले अब कार्यवाहक मेयरको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योलमा परेको छ । यस विषयमा स्थानीय शासन सञ्चालन ऐन २०७४ समेत मौन रहेको छ । कुनै पनि ऐन, कानुनले मेयर र उपमेयरको एकैपटक निलम्बनको कल्पना नगरेकाले अब कार्यवाहक मेयर को बन्ने भन्ने अन्योल भएको हो । केहीले अब ज्येष्ठ वडाध्यक्षले कार्यवाहक मेयरको भूमिका निभाउने तर्क गरेका छन् ।

चार वटा आर्थिक वर्षमा खानीजन्य ढुङ्गा/गिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार दुई सय ८७ रुपैयाँ हानी/नोक्सानी पुर्‍याएको ठहर भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *