आर्थिक सुधारको बजेट भनिएपनि धेरै समस्याको सम्बोधन भएको छैन : पूर्वअर्थमन्त्री खतिवडा

भक्तपुर न्यूज

२० जेठ २०८१ ९:०२

आर्थिक सुधारको बजेट भनिएपनि धेरै समस्याको सम्बोधन भएको छैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएता पनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक क्षेत्रको समस्याको समाधान दीर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरू गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताए।

उनले भने, ‘आयात निरन्तर घट्दै छ। त्यसैले राजस्वमा दवाव परेको छ। त्यसले व्यवसायीको आम्दानीमा प्रभाव पारेको छ। त्यसको समाधान त दीर्घकालीन हुनुपर्ने होला नि? बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरू गरेको छ। समस्याको धेरै सम्बोधन भएको छैन। यसै पनि संरचना सुधारका कुराहरू धेरै हुन्छन्। ती कुरा अब आयोग गठन गरेर गर्ने भन्नुभएको छ। त्यसमा मेरो आलोचना छ।’

उनले अगाडि भने, ‘बजेटको पाँच पेजमा आर्थिक सुधारको कुरा गर्ने अनि छौंठौं पेजमा गएर यि सबैको लागि उच्च स्तरीय आयोग गठन गर्ने भन्ने? बजेटमा मन्त्रीज्यूले आर्थिक सुधारको वर्ष भन्नुभएको छ तर आयोग गठनको वर्ष हुने डर हुन्छ। त्यस्तो नहोस्।’

उनले बाहिरबाट सुन आयात गरेर आफ्नो सीपलाई प्रयोग गरी गहना बनाएर निर्यात गर्ने कुरामा राष्ट्र बैंक र अर्थ मन्त्रालयले सोच्न आवश्यक रहेको औंल्याए।

उनले भने, ‘गहना बनाएर निर्यात गर्ने सुन चाँदीको हकमा आयात गर्न दिँदा हुन्छ। निर्यात हुने परिमाणको आधारमा आन्तरिक खपत भने कठिन हुन्छ। त्यो राज्यले धान्न सक्दैन। सुनको माग हाम्रो देशको देशको नागरिकको मात्र होइन, त्यसैले आफ्नो सीपलाई प्रयोग गरेर र मूल्य वृद्धि गरेर निर्यात गर्ने कुरामा राष्ट्र बैंक र अर्थ मन्त्रालयले सोच्नुपर्छ।’

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *