अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक नचलाउनूस् : सांसद खतिवडा

भक्तपुर न्यूज

२० जेठ २०८१ ६:५०

अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक नचलाउनूस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा श्रम गराउने गृहमन्त्री लामिछानेको आदेशको आलोचना गर्दै उक्त काम तुरुन्त बन्द गर्न र कानुनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात गर्न माग गरे ।

उनले उपप्रधान तथा गृहमन्त्री लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको आरोप समेत लगाए । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर गृहमन्त्रीले सडकमा उतारेको भन्दै प्रश्न गरे ।

‘सानातिना कुरामा मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन, कानुन अनुसार चलाउनुप¥यो । कसैको पनि शोषण गर्न पाइँदैन,’ उनले भने, ‘अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्विट गरेर मुलुक चलाउने होइन । कानुनअनुसार मुलुक चलाउने पद्धतिको विकास होस् ।’

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमार्फत् ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकको नाममा सडकमा श्रम गराउने घोषणा गरेका थिए । भोलिपल्टदेखि नै प्रहरीले गृहमन्त्रीको घोषणा कार्यान्वयनमा ल्याएपछि कानुन बिना सजायस्वरुप सडकमा नागरिकलाई श्रम गराएको भन्दै आलोचना सुरु भएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *