ट्राफिक ‘स्वयंसेवक’को नाममा सडकमा उभ्याउने कदमविरुद्ध रिट दायर
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका नागरिकलाई ‘स्वयंसेवक’को नाममा सडकमा उभ्याउने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
रिटमा प्रहरी प्रशासनबाट भएको कार्यले कानूनी राज्यको उपहास भएको महसुस गरी विपक्षीहरुबाट भए गरेको कार्य प्राकृतिक न्यायका सिद्धान्त विपरित र संविधानले अवलम्बन गरेका सिद्धान्त एंव मौलिक हकहरुको हनन भएको दाबी गरिएको छ ।
साथै कारबाहीमा परी बाटोमा उभ्याइएका चालकहरु उपर त्यस्तो गर्ने गरी भएको सबै पत्र, निर्णय चिट वा मौखिक आदेश समेत बदर गर्न उत्प्रेषणको परमादेशको आदेश जारी गर्न पनि माग गरिएको छ ।
कृष्ण वि.क., रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेस पौडेल, उज्जवल माली, ईमामुल हक, राजु परियारले रिट दायर गरेका हुन् । उनीहरूले गृह मन्त्रालय, उपत्यका प्रहरी ट्राफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन् ।
गणतन्त्र दिवसका दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा लेख्दै मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयंसेवकका रुपमा साटो सडकमा सघाउने बताएका थिए । गृहमन्त्रीको त्यस जानकारीपछि भोलिपल्टदेखि नै सडकमा ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई उभ्याएर श्रम गराउन थालिएको छ ।
कानुनको उचित प्रबन्ध बिना नागरिकलाई सडकमा उभ्याउने कदमको विरोध हुँदै आएको छ । आलोचकहरूले यसलाई नागरिकको अपमान गरिएको र हुकुमी शैली अपनाइएको भन्दै विरोध गरिरहेका छन् ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार