महिलामन्त्री चौधरी भन्छिन्– ‘प्रधानमन्त्री छोरी कार्यक्रम’लाई १० करोड मात्रै बजेट छुट्याउँदा ग्लानि महसुस भयो’
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
बुधबार ललितपुरमा छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उनले आफूले उक्त कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भए पनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताइन् । मन्त्री चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’लाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने बताइन् ।
मन्त्री चौधरीले महिला अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानि महसुस भएको बताइन् । उनले महिलाहरू आर्थिक रूपले सशक्त नभईकन देश समृद्ध बन्न नसक्ने बताइन् । मन्त्री चौधरीले अहिले नेपाली महिलाहरूले संवैधानिक रूपमा धेरै अधिकार प्राप्त गरेको बताइन् ।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार