गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : निर्दोष हो भने छानबिन समिति बनाउन मुटु काँपेको हो?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई ‘छानबिन समिति बनाउन मुटु काँपेको हो ?’ भन्दै प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ‘सहकारी प्रकरणमा निर्दोष हो भने छानबिन समिति बनाउन मुटु किन कपाएको हो ?’ भन्दै प्रश्न गरेका हुन् ।
सांसद शाहीले गृहमन्त्रीलाई सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा दुईवटा कुरा गरिरहेको बताए । उनले छानबिन समिति बनाउनका लागि तयार हुन आग्रह समेत गरे ।
‘सहकारी पीडितहरूको सडकमा बास भएको छ । मकै पोलेको, सागको मुठा बेचेको पैसा हो । कुनै अर्बपतिको हैन । नेपाली जनतालाई मार्न पाइँदैन । त्यसैले छानबिन समिति आवश्यक छ ’ शाहीले भने,‘यदि तपाईँ निर्दोष हो भने मुटु किन काँपिरहेको छ ? खुट्टा किन काँपिरहेका छन् । छानबिन समिति बनाउन दिनुहोस् । निर्दोष हुनुभयो भने फेरि गृहमन्त्रीमै रहिरहनुहोला । तर, अहिले छानबिन समिति आवश्यक छ ।’
प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार