गण्डकी सरकारको वैधानिकताविरुद्ध कांग्रेसले दायर गरेको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलले इजलाशमा परेको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतमाथि वैधानिकताको प्रश्न उठाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २५ वैशाखमा रिट दायर गरेका थिए । यसअघि उक्त रिट उपर न्यायाधीश अब्दुल अजिज मुसलमानले प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न आदेश जारी गरेको थियो । साथै, मंगलबार पेशी तोकिएको थियो ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । तर सभामुख कृष्णप्रसाद धितालले ३० सिट नै बहुमतको आधिकारिकता दिएको भन्दै कांग्रेस सर्वोच्च पुगेको हो । यसअघि पनि मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति संविधानविपरीत भएको भन्दै कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो ।
उक्त रिटउपर न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले १७ वैशाखमा रिट खारेज गरिदिएका थिए । त्यसपछि उनले सदनबाट ३० वैशाखमा विश्वासको मत लिएका थिए ।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार