कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभा प्रभावित
काठमाडौंं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । विहान ११ बजे बस्ने भनिएको बैठक २ बजेका लागि सारिएको छ । बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ ।
आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो। यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो।
टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।
प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार