कानून व्यवसायीको राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा हुने
काठमाडौं । १६ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि काठमाडौंमा हुने भएको छ । बिहीवार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सम्मेलन जे ४ गते (भोलि) बाट ६ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन गर्ने बताए ।
सम्मेलनमा तय गरिएका विविध विषयहरूमा कानून व्यवसायीहरूले आफ्नो कार्यपत्र प्रस्तुत गरी सो उपर छलफल हुने र कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरूको तर्फबाट समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । उनले न्यायलयमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि कार्की प्रतिवेदनको कार्यान्वयन गर्दै न्यायिक सुशासन र नागरिकको न्यायिक अधिकार सुनिश्चित गर्न आवश्यक रहेको पनि बताए ।
नेपाल बार एशोसिएशनको २०८० मंसिर २४ र २५ गते चितवनमा सम्पन्न केन्द्रिय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरूको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सो सम्बन्धी निर्णय लिनका लागि सम्मेलनमा प्रस्ताव पेश गर्नेसमेत बताए । न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन समेत सम्मेलन कोशेढुंगा सावित हुने जिकिर गरे ।
अध्यक्ष घिमिरेले ‘सक्षम कानून व्यवसायी, मर्यादित बारः न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढिकरणको आधार’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुने पनि बताए ।
प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार