संसद् बैठकमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेस तयार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ ।
अहिलेसम्म कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न दिएको थिएन । सहकारी ठगी प्रकरणमा दोषी भएको जिकिर गर्दै कांग्रेसले उनीमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बन्नुपर्ने अडान लिएको थियो ।
त्यसबीच कांग्रेसले उनलाई बोल्न दिएको थिएन । यसअघिका संसद् बैठकहरूमा बोल्न तम्सिएका गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदहरूले रोष्ट्रममा जानै दिएका थिएनन् । तर, अब भने बोल्न दिने कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।
“गृहमन्त्रीजीलाई बोल्न दिने र त्यसपछि हामीले बोल्न भन्नेमा लगभग सहमति भएको छ,” उनले भने ।
बिहान ११ बजे बस्ने भनिएको संसद् (प्रतिनिधिसभा) बैठक ४ बजेका लागि सारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा सभामुख देवराज घिमिरेले बैठक सारेका हुन् । प्रधानमन्त्री प्रचण्डले बैठक कुनै अवरोधबिना अघि बढाउन खोजेका छन् ।
प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार