सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगर

भक्तपुर न्यूज

२६ वैशाख २०८१ ६:३७

सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले तथ्यांक र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ। नियमन क्षेत्राधिकार अन्तर्गतका प्रतिनिधिहरुलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषय समेत अवगत गराउने कामपाको तयारी रहेको छ।

कामपाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरू, सहकारी संस्थाहरू र स्वास्थ्य सेवा प्रदायकहरू छन्। कामपाका सूचना अधिकारी वसन्त आचार्यले, २०८० सालमा कामपाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको जानकारी दिए।

यसमा सार्वजनिक महत्त्वका सूचनाको हकको प्रचलन, संरक्षण सम्वर्द्धन, स्वतः प्रकाशन, प्रसारण तथा प्रवाहलाई कामपाको दायित्वका रूपमा राखिएको उनको भनाइ छ। ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रूपमा तोकेको छ। नियमन क्षेत्राधिकारभित्र रहेका संघसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको उनले बताए।

कामपाको सहप्रवक्ता दीपक अधिकारीले, महानगरपालिकाले प्रणालीमार्फत् आफूले दिनुपर्ने सूचना नियमित दिएको, आम सञ्चारमाध्यममा स्वतः प्रकाशन प्रसारण गर्ने गरिएको स्पष्ट पारे। सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ।

सार्वजनिक निकायका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन्। सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्दछ। सूचनाको हकसम्बन्धी नेपालको कानुनले सूचना माग्दा लिखित रुपमा माग्नुपर्ने र तोकिएको समयमा प्राप्त गर्नुपर्ने व्यवस्था छ। सूचना दिने अधिकारीले सूचना नदिए उजुरी गर्न सकिने व्यवस्थासमेत छ।

प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *