आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइँदै

भक्तपुर न्यूज

२६ वैशाख २०८१ ५:४३

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं । आज आमाको मुख हेर्ने पर्व देशभर मनाइँदैछ। आज विशेष गरेर आफूलाई जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान अपंण गरिन्छ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र तथा मीठा खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृ ऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।

धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा उच्च मानिएको छ। आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ। पितृ ऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ। आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। आमा नहुने नर नारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजाअर्चना गर्ने गरिन्छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृ ऋणबाट मुक्त हुने जनश्रुति छ। मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृ भक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा रहेको मातातीर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *