जेहेन्दार, गरिब तथा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीलाई पढाउन निर्देशन

भक्तपुर न्यूज

९ साउन २०८० १२:५२

जेहेन्दार, गरिब तथा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीलाई पढाउन निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले जेहेन्दार, गरिब तथा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीलाई पढाउन निर्देशन दिएका छन् । मंगलबार नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा छात्रवृत्ति सिफारिस र छात्रवृत्ति छनोट परीक्षाको विषयमा भएको भेलामा उनले सो निर्देशन दिएका हुन् ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षाको जग बलियो पार्दै सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान ढंगले अगाडि बढाउन विविध शैक्षिक क्रियाकलापहरु गर्दै आइरहेको बताए । भक्तपुरका विद्यार्थीहरुलाई २१ औं शताब्दीका योग्य नागरिक बनाउन र आर्थिक कारण विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन भक्तपुर नपाले २०७५ सालदेखि छात्रवृत्ति वितरण गर्दै आइरहेको बताए।

उनले विद्यालयहरुले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक अवस्थाबारे नगरपालिकालाई अवगत गराउनुपर्ने बताउँदै भक्तपुरलाई शैक्षिक रुपमा अझ परिस्कृत ढंगले अगाडि बढाउन विद्यालयहरुको क्रियाशीलता आवश्यक रहेको बताए ।

उपप्रमुख रजनी जोशीले विद्यार्थीहरुलाई अध्ययनमा नियमितताको लागि छात्रवृत्तिले विशेष भूमिका खेलेको बताउँदै गरिब र जेहेनदार विद्यार्थीहरु छात्रवृत्तिबाट बढी लाभान्वित भएको बताइन् ।

नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा विज्ञान विषयमा ३७० जना, व्यवस्थापनमा ३१५, मानविकीमा १३, शिक्षामा १९ र कानुनमा २६ गरी कूल ७४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी गराए ।

प्रकाशित मितिः २०८० साउन ०९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *