कोरोना भाइरसको सङ्क्रमणमा यस्तो रहन्छ मुखको अवस्था

भक्तपुर न्यूज

३१ चैत २०७७ ०:१०

कोरोना भाइरसको सङ्क्रमणमा यस्तो रहन्छ मुखको अवस्था

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण धेरैजसो खोक्दा, बोल्दा वा स्वास–प्रस्वासको माध्यमबाट सर्ने हुन्छ ।

जर्नल नेचर मेडिसिनमा प्रकाशित गरिएको नेसनल इन्स्टिच्युट अफ हेल्थ एनआइएचको नयाँ अध्ययनअनुसार कोभिड–१९ का बिरामीमध्ये आधाजसो बिरामी सङ्क्रमणको क्रममा मौखिक लक्षणबाट पीडित हुने गर्छन् । एनआइएचको अध्ययनमा सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकामा वा हल्का किसिमका सङ्क्रमितमा पनि रोगसँग सम्बन्धित मौखिक लक्षणहरू देख्न सकिने उल्लेख गरिएको छ ।

मुख ओरल क्याभिटी र मुख टिस्यूहरूमा भाइरसको उपस्थितिले भाइरसको प्रसारणमा ठूलो भूमिकामा निर्वाह गर्न सकिने देखिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामा स्वाद थाहा पाउने क्षमतामा कमि आउने वा हराउने बताइएको थियो ।

तर, यसबाहेक पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकामा मुखसँग सम्बन्धित विभिन्न लक्षण देखिन सक्छ । मुख सुक्खा हुनु पनि विभिन्न भाइरल सङ्क्रमणसँग सम्बन्धित हुन्छ । मुख सुक्खा भएमा सास गनाउने, बोल्न तथा चपाउन गाह्रो हुने, मुखको माथिल्लो सतहमा पोल्ने हुनसक्छ ।

कोरोना भाइरसलगायतका अन्य भाइरल सङ्क्रमण हुँदा इन्फ्लामेसन ९सुन्निने वा सुजन० अनुभव हुने हुन्छ । यो इन्फ्लामेसन जिब्रो र गिजामा घाउ वा पीडादायी बिमिराको रूपमा देखा पर्न सक्छ । केही मानिसमा मुखमा हुने भाइरल सङ्क्रमण अल्सर, जलन र एलर्जीको रूपमा आउन सक्छ । धेरैजसो कोरोना सङ्क्रमित बिरामीमा कोभिड टङको समस्या देखिएको छ । यसमा बिरामीको जिब्रो पोल्ने, सुन्निने हुनसक्छ ।

एक सामान्य, स्वस्थ गुलाबी रङको जिब्रो भन्दा फरक, असामान्य रातोपन देखिने, सेतो प्याच वा गाढा रङको जिब्रो भाइरसबाट सङ्क्रमण हुँदा देख्न सकिन्छ ।

मुख र जिब्रोमा हुने परिवर्तनहरू कोभिडका प्रमुख लक्षण होइनन् । तर, भाइरसको परिवर्तन भइरहने व्यवहार र सङ्क्रमणको वृद्धिसँगै कुनै पनि लक्षण र अचानक, असामान्य लक्षणहरू देखिन सकिने हुँदा कुनै पनि असामान्य लक्षण देखिए बेवास्ता नगरी जाँच गर्नु आवश्यक हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *