भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनमा

भक्तपुर न्यूज

३० माघ २०७७ ६:५१

भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनमा

भक्तपुर । भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिएको श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले भवन उद्घाटनसँगै उपचार सेवा सुरु गरेको हो । जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेक) को प्राविधिक सहयोगमा उक्त केन्द्र स्थापना गरिएको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र स्थापनाले देशभरिका दीर्घ दमखोकी भएका व्यक्ति लाभान्वित हुने बताएका छन्  । स्वास्थ्य क्षेत्रमा पनि बेथितिबारे आउन थालेकाले नेपालमा नक्कली औषधी निर्यात भइरहेकोतर्फ सचेत रहन उनले सुझाए ।

Image result for भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनमा

नगरपालिकाले श्वासप्रश्वास पुन:स्थापना केन्द्र सञ्चालनका लागि करिब १ करोड ८२ लाख रुपैयाँ लागतमा भक्तपुर–९ तुमुचोस्थित मौलिकशैलीमा भवन निर्माण गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति धन्यवाद व्यक्त गर्दै केन्द्रबाट तालिम प्राप्त चिकित्सकले सेवा प्रवाह गर्ने बताए ।

दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाले संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख प्रजापतिले नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ३ वटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरीका स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास पुनर्स्थाजना केन्द्र सञ्चालन गरी नयाँ प्रयास थालनी गरेको बताए । उनले नगरपालिकाको अगुवाइमा सञ्चालन हुने ख्वप अस्पताल यथाशक्य छिटो सञ्चालन हुने आशा व्यक्त गरे ।

प्रकाशित मितिः २०७७ माघ ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *