उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ७९ सवारी चालक कारवाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ७९ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट मंगलबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८७ जना, लेन उल्लंघन गर्ने २ सय ४६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३१ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने २८ जना, टिपर कारबाहीमा ३२ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय १ जना, अनावश्यक हर्न बजाउने ४३ जना, ब्हील लकबाट १ सय ५ जना र अन्य ८ सय ६ जना गरी गरी जम्मा १ हजार ५ सय ७९ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा मंगलबार २७ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् । महाशाखाका अनुसार मंगलबार २६ हजार ८ सय ६३ सवारी साधनबाट १ लाख ७२ हजार २ सय ८४ जना काठमाडौं उपत्यका भित्रिएका छन् भने १७ हजार ९ सय २६ सवारी साधनबाट १ लाख ११ हजार ५ सय ८२ जना बाहिरिएका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक २० बुधबार