अर्घ्य दिँदै सकियो छठ पर्व

भक्तपुर न्यूज

१७ कार्तिक २०७६ ६:०९

अर्घ्य दिँदै सकियो छठ पर्व

काठमाडौं । छठ पर्वको अन्तिम दिन आज आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यअनुरुप आज उदाउँदो सूयलाई श्रद्धापूर्वक पूजाआजा र अर्घ्य दिएपछि छठ पर्व समापन भएको हो ।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौं सहित तराइका विभिन्न जिल्लामा भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

उपत्यकामा पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिरअगाडिको वाग्मती नदी किनार, कमल पोखरी, नाग पोखरी, गहना पोखरी, थापाथली, कुपण्डोललगायत वाग्मती, विष्णुमती, नख्खु खोला किनार तथा भक्तपुरको कमलबिनायक पोखरीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गर्दै छठको मूख्य दिन शनिबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिइएको थियो ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रुपमा यो पर्व सम्पन्न भएको हो ।

प्रकाशित मितिः २०७६ कार्तिक १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *