भक्तपुरमा माटाका पाला बनाउन प्रजापतिहरुलाई भ्याई नभ्याई

भक्तपुर न्यूज

७ कार्तिक २०७६ ५:४४

भक्तपुरमा माटाका पाला बनाउन  प्रजापतिहरुलाई  भ्याई नभ्याई

भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड दीपावलीमा दियो बाल्नका लागि प्रयोग गरिने माटाका पाला बनाउन भक्तपुरमा प्रजापतिहरुलाई यतिखेर भ्याई नभ्याई छ ।

लक्ष्मीपूजाको साँझ प्रत्येकका घरमा धनकी देवी लक्ष्मीलाइ स्वागत गर्न दियो बालेर दीपावली गर्ने प्रचलन रहेको छ । तिहारको समयमा दियो बाल्न माटाको पालाको माग अत्याधिक हुने गरे पछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदायलाई यतिखेर माटाका पाला बनाउन भ्याई नभ्याई भएको हो ।

भक्तपुरमा मात्र नभई पालाको माग अहिले काठमाडौं, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रेलगायतका ठाउँबाट माग आएकाले पाला बनाउन भ्याइनभ्याइ भएको उनीहरु बताउँछन् ।

अन्य समयमा दैनिक दुई दर्जन बिक्री नहुने पाला तिहारको समयमा दैनिक तीन हजारसम्म बिक्री हुने गरेको माटाका भाडा बनाउने व्यवसायीहरु बताउँछन् । अन्य समयमा अन्य माटाका भाडाहरु फाटपूट बिक्री हुने गरेको भएपनि तिहारको समयमा माटोका पाला बढी विक्री हुने भएकाले आफूहरु पाला बनाउन व्यस्त भएको उनीहरु बताउँछन् ।

सबैभन्दा सानो पाला एक सय वटाको एक सय पचास देखि दुई सय रुपैयाँसम्ममा विक्री हुने गरेको उनीहरु बताउँछन् । माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला बनाउनेहरु बताउँछन् ।

पाला मात्र नभएर माटाका अन्य भाडा बनाउन समेत कालो माटोको अभाव, बनाइएका सामान सुकाउन ठाउँको अभाव र माटा भाडा पोल्ने स्थानको अभाव रहेको तथा पछिल्लो समय प्लाष्टिक र विद्युतीय सामग्रीका कारण माटाका सामानहरुको उचित दाम नआउने भएपछि यो पेशामा काम गर्ने व्यक्तिहरु विस्तारै पलायन हुन लागेको समेत उनीहरुको गुनासो रहेको छ ।

तिहारको समयमा उपत्यका र उपत्यकाबाहिरका बासिन्दाले भक्तपुरसम्म पाला किन्न आउने गरेको तथा विभिन्न ठाउँहरुबाट माग बढी आउने भएपछि पाला बनाउने पेशा आफूले नछोडेको व्यवसायीहरु बताउँछन् ।

तिहारको लागि मात्रै भक्तपुरबाट १० लाखभन्दा बढी माटाका पालाहरु बनाउने स्थानीयले जानकारी दिए । प्रायःजसो यो पेशा गर्नेहरुले तिहारको लागि हप्तादिन अगाडिदेखि नै पाला बनाउने गरेका छन् ।

पछिल्लो समय प्लाष्टिक र विद्युतीय सामग्रीका कारण माटाका सामानहरूको उचित दाम नआउने भएपछि यो पेसामा काम गर्ने व्यक्तिहरू विस्तारै पलायन हुन लागेको समेत उनीहररूको गुनासो रहेको छ । उनीहरूले युवा पुस्तामा यो पेसामा आकर्षण नरहेको पनि बताएका छन् । आफूहरूले कहिलेसम्म यो पेसा थाम्न सकिने हो रु उनीहरूको चिन्ता छ ।

भक्तपुर नगरको बोलाछें, सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुरको चपाचोलगायतका टोलमा माटाको भाडाहरु बनाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *