भाइटीकाको शुभ साइत सार्वजनिकः बिहान ११ः५५ बजे उत्तम साइत
काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आइतबार तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको कार्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको हो ।
कार्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।
यस वर्ष यमपञ्चक कार्तिक ८ गते शुक्रबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कार्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कार्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । गाई, गोरु र आत्म(म्ह) पूजा भने कार्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
कार्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक ३ आइतबार