सुरक्षाकर्मी र कर्मचारीले ओली सरकारको गुलामी गरेको देउवाको आरोप
भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाकर्मी र कर्मचारीले ओली सरकारको गुलामी गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आयोजित पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा कांग्रेस गाउँकमिटीका सभापतिहरलाई दिइने प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले जनताले तिरेको करको पैसाले तलब खाने सुरक्षाकर्मी र कर्मचारी देशको नभई नेकपा सरकारको भरणपोषणमा ब्यस्त रहेको आरोप समेत लगाए ।
सभापति देउवाले कांग्रेस सांसद मोहम्मद अफताव आलम पक्राउको विषयमा बोल्दै १२ वर्ष अघि घटेको घटनालाई लिएर तत्काल केही कदम नचाल्ने र अहिले आएर पक्राउ गर्नुलाई नेकपाको नियोजित षड्यन्त्रको रुपमा आफुले हेरेको बताए ।
सोही कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार अधिनायकतर्फ उन्मुख भएको बताए । उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई झुठा मुद्दा लगाएर पक्राउ गरेको भन्दै अब सबै मिलेर सरकारका कदमविरुद्ध खबरदारी गर्नुपर्ने समय आएको उल्लेख गरे ।
अर्का नेता कृष्णप्रसाद सिटौलाले सुरक्षाकर्मी र निजामति कर्मचारीहरु कम्युनिस्टहरुको सेवक भईरहेको बताए । सर्वत्र कर्मचारी र सुरक्षाकर्मीलाई कम्युनिस्टले कब्जा गरेर आगामी निर्वाचनमा कब्जा गर्ने उद्देश्य भएकाले पार्टीको एकता आजको आवश्यकता भएको सिटौलाको भनाई थियोे ।
प्रकाशित मितिः २०७६ कार्तिक १ शुक्रबार