आज बडादशैँको सप्तमी : फूलपाती भित्र्याइँदै
काठमाडौँ । बडादशैंको सातौं दिन आज शिनबार कालरात्रि देवीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरुपको पूजाआराधना गर्ने परम्पराअनुसार आज नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ । स्वरुप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ ।
आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।
सप्तमीको यो विशेष दिनलाई फूलपाती भनिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित फूलपाती भित्राइन्छ ।
महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ । यस्तै भद्रकालीको आराधना पनि गरिन्छ । विभिन्न शक्तिपीठहरुमा पशुबलिसहितको पूजा पनि चल्छ । यो समयमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।
आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।
प्रकाशित मितिः २०७६ असोज १८ शनिबार