बडादशैंको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा आराधना
काठमाडौं । बडादशैंको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रका नौ दिनसम्म नवदुर्गाका एक–एक स्वरुपको पूजाआराधना गर्ने परम्पराअनुसार आज दुर्गा भवानीको पाँचौं शक्तिका रुपमा प्रादुर्भाव भएकी स्कन्दमाता भगवतीको पूजाआराधना गरिँदैछ ।
हिन्दूहरुमा स्कन्दमाताको पूजा आराधना गरे सन्तान सुख पाइने विश्वास रहँदै आएको छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।
दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।
नवरात्रको अन्यदिन झैं आज पनि गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, भद्रकाली, संकटा, बज्रबाराही, पलाञ्चोक भगवती, दक्षिणकाली, मनकामनालगायत देशभरिका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
प्रकाशित मितिः २०७६ असोज १६ बिहिबार