बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना
काठमाडौं । बडादशैंको दोस्रो दिन आज सोमबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गर्ने गरिन्छ । शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने गरिन्छ ।
तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ ।
यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन पनि छ ।
साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।
ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा उल्लेख छ ।
आज काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार