विश्व पर्यटन दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज ४० औं विश्व पर्यटन दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९७० सेप्टेम्बर २७ का दिनलाई संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै सो दिनको संस्मरणमा सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउने परम्परा शुरु भएको हो ।
यस वर्ष विश्वभर ‘टुरिजम एन्ड जब्सः अ बेटर फ्युचर फर अल’ पर्यटन र रोजगारः सबैका लागि राम्रो भविष्य भन्ने नाराका साथ ४०औँ विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ ।
दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ ।भौगोलिक हिसाबले नेपाल विश्वकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ । यहाँका हिमशृंखला, मनोरम हरियाली वातावरण, जैविक अनि सांस्कृतिक विविधता हाम्रा पर्यटकीय सम्पत्ति हुन् । हिमाल आरोहणका लागि मात्रै बर्सेनि नेपालमा हजारौं पर्यटक आउँछन् तर यथोचित प्रचारप्रसार हुने हो भने यो संख्या लाखौंमा परिणत हुनसक्छ । नेपालमा पदयात्रा र धार्मिक पर्यटनको पनि सम्भावना उत्तिकै छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष मनाउने घोषणा गरेको हो । सन् २०२० मा जिडिपीमा पर्यटन क्षेत्रको योगदान हालको २ प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउने लक्ष्य सरकारले लिएको छ ।
प्रकाशित मितिः २०७६ असोज १० शुक्रबार