भक्तपुरको खरिपाटी हत्याकाण्डः छोरीले मार्न लगाइन् ६१ वर्षीया आमालाई
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटी बाँसबारीमा भएको हत्यामा उनकै छोरीको संलग्नतामा भएको खुलेको छ ।
आइतबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भई भक्तपुरमा छोरी इश्वरी भट्टराईको घरमा बस्दै आएकी ६१ वर्षीय सावित्री भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी हत्या भएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गर्दै सो हत्या मृतककी छोरी इश्वरीले आफ्ना प्रेमी सिराहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँगको संलग्नतामा गराएको जनाएको छ ।
२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकार गरेको महाशाखाका एसएसपी शहकुल थापाले जानकारी दिए ।
हत्या आरोपमा प्रहरीले छोरी इश्वरीसहित मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद राहिसलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रेमीसँग मिलेर छोरीले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहम्मद राहिसलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् ।
रकम पाएपछि उनीहरुले चक्कु प्रहार गरेर सावित्राको आइतबार बिहान हत्या गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानका क्रममा ४ जनाको संलग्नता देखिएपछि आइतबार नै सबैलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।
प्रकाशित मितिः २०७६ असार १६ सोमबार