किसानहरु अत्तालिनु पर्ने अवस्था छैन
काठमाडौँ । मनसुनी गतिविधि क्रमिक रुपमा बढ्दो क्रममा रहेकाले किसानहरु अत्तालिनु पर्ने अवस्था नरहेको मौसमविदले बताएका छन् ।
रोपाइँ गर्ने गरी पानी पर्न नसकेको भनेर किसान चिन्तामा रहेका बेला मौसमविदले भने मनसुनी गतिविधि बढ्दै गएको र क्रमिक रुपमा थप सक्रिय हुने देखिएको बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहेको छ । पश्चिमका क्षेत्रमा पनि आउँदा दिनमा लगातार पानी पर्ने मनसुनी गतिविधि बढ्दै जाने देखिएको मौसमविदले बताएका छन् ।
मौसमविदका अनुसार हाल मध्य र पूर्वका क्षेत्रमा पानी पर्ने क्रम जारी छ र यो बढ्दै जाने छ । यस्तै केही दिनमा पश्चिमका क्षेत्रमा पनि गतिविधि बढ्ने देखिएको छ । अघिल्ला वर्षको जस्तो मनसुन निश्क्रिय भएर खडेरी पर्ने सम्भावना नदेखिएको बताएका छन् ।
यसैबिच शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली र पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् ।
पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
प्रकाशित मितिः २०७६ असार १४ शनिबार