संगीतमा समस्याहरु रहेता पनि अवसरको बाटो प्रशस्त छ : कसपाल
भक्तपुरका चर्चित युवा गायक संगीतकर्मी कपिल कसपालको दैनिकी झण्डै जसो संगीतमै बित्ने गर्दछ । पछिल्लो समय गायनकै माध्यमबाट आफ्नो पहिचान बनाउन सफल गायक संगीतकर्मी कसपालको भर्खरै मात्र नयाँ गीत ‘मायाको चेक’ बजारमा आएको छ । वर्तमान समयमा संगीतको अवस्था र भक्तपुरबाट संगीतलाई कर्म बनाएर काम गर्दा आइपरेका विविध समस्या लगायत अवसरका बिषयमा भक्तपुर न्यूजसँग गरिएको कुराकानीको सारसंक्षेप ।
कसरी बिताई रहनु भएको छ दिनहरु ?
– भन्नु पर्दा दिनहरु संगीतकै कर्ममा बितिरहेको छ । बिहान उठेदेखि बेलुकासम्म यहि कर्ममै दिन बितिरहेको छ । कहिले काँहि यसो बाहिरको काममा पनि जाने गरेको छु ।
कस्तो छ संगीतको यात्रा ?
– भक्तपुरका कलाकारलाई मूल संगीतको धारमा जान निकै कठिन छ । समस्याहरु रहेता पनि अवसरको बाटो भने प्रशस्त रहेको छ । संगीत क्षेत्र हाल पनि भक्तपुरमा ब्यवसायिक बन्न सकेको छ जस्तो लाग्दैन ।
संगीतमा लागेर जीवनको जोहो गर्न सकिन्छ ?
– सकारात्मक हिसावले सोच्दा भबिष्य राम्रो छ तर हाल यहीलाई कर्म बनाएर जाने हो भने जीवनको जोहो गर्न गाह्रो छ । जे जस्तो भएता पनि संगीतमा नै जीवनको एक महत्वपूर्ण पाटो भएकाले पनि बिस्तारै यो पेशाका रुपमा समेत विकास हुँदै छ । आशा गर्न सकिने आधारहरुको निर्माण हुँदै छ भन्नु पर्छ ।
हालसम्म तपाईको कतिवटा गीत बजारमा आईसक्यो ?
– दुई दर्जन जति गीतहरु बजारमा आईसकेका छन् । बाल बच्चादेखि युवापीडिहरुको लागि अनि भजनदेखि मनोरञ्जनका गीतहरु बजारमा ल्याई सकेको छु ।
तपाईको बजारमा सबैभन्दा चलेको गीत कुन हो ?
– ‘रसिलो’, ‘आई लभ यू’, ‘मेरो माया तिमिलाई’ लगायत थुप्रै गीतहरु स्रोता दर्शकहरुले माया गरेर रुचाएको गीतहरु हुन् । यस्तै पछिल्लो समयमा दशैंको गीत बजारमा ल्याएको छु । जुन दर्शकहरुले निकै मन पराईदिनु भएको छ । त्यस्तै हालै मात्र बजारमा आएको ‘मायाको चेक’ पनि दर्शक स्रोताको रोजामा पर्नेमा आशावादी रहेको छु ।
संगीतको बजार कसरी बिस्तार गर्न सकिन्छ होला ?
– समयको परिवर्नतसँगै डिजिटिल बजारमा सिमित बनेको छ संगीत । बिगतमा जस्तो चक्काहरु बिक्ने जमाना छैन । अब संगीतको बजारलाई बिस्तार गर्ने हो भने, संगीतको कपि राईट, संगीतको रोयल्टि, लगाएको बिषयमा संगीतसँग आवद्ध सम्पूर्ण वर्ग र क्षेत्र लाग्नु पर्ने अवस्था आएको छ जस्तो लाग्छ । सरकारले पनि कलाकारको बौद्धिक सम्पत्तिको हितमा नीतिहरु निमार्ण गर्न नसकेको हो कि जस्तो लाग्छ । यस तर्फ पनि सरकारले ध्यान दिने हो भने कला संगीत क्षेत्रबाट देशका लागि अझ बढी केही गर्न सक्छन् जस्तो लाग्छ ।
यो क्षेत्रमा लाग्दा कस्ता समस्याहरु झेल्नु भयो ?
– हरेक क्षेत्रमा देखिने समस्या जस्तै आर्थिक समस्या नै पहिलो हो । अर्थ बिना यो क्षेत्रमा लाग्न नसकिने अवस्था देखे । विभिन्न समस्या झेल्दै आईरहेको छु र अगाडि बढ्ने क्रम जारी छ । संगीत बौद्धिक सम्पत्ति भएका कारण यसलाई अर्थसँग तुलना गर्ने परिपाटिको अन्त्य हुन पर्छ जस्तो लाग्छ । कलाकारलाई कलामै रम्ने वातावरण श्रृजना गर्ने तर्फ सबैको सहयोग आवश्यक रहेको छ जस्तो लाग्छ ।
भक्तपुरमा संगीतमय बनाउन के गर्नु पर्ला ?
– भक्तपुर साँस्कृतिक समाजमा उपाध्यक्ष भएर काम गरिरहेको छु । भक्तपुरमा बेला मौकामा विभिन्न खालका साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने काम भइरहेको छ । जस्तै नारायण गोपाल स्मृति साँझ, अरुण थापा स्मृति साँझ लगायत विभिन्न साँस्कृतिक कार्यक्रम गरिरहेको छौं । उपत्यकाभित्रै रहेता पनि भक्तपुरमा साँस्कृतिक गतिबिधि काठमाडौं र ललितपुरमा हुने भएता पनि राष्ट्रिय स्तरका साँस्कृतिक कार्यक्रम भक्तपुरमा भने हुँदैने । तर हामीले यो अभियान चलाइहेका छौं र भक्तपुरका स्थानीयहरुको सहयोग पनि मिलेको छ ।
अन्त्यमा ?
– भर्खरै मात्र मेरो नयाँ गीत रिलिज भएको छ ‘मायाको चेक’ । त्यसलाई सुनेर हेरेर माया गर्नु हुने छ भन्ने अपेक्षा राखेको छु । त्यस्तै, तपाईहरुको सल्लाह सुुझावको समेत आशा राखेको छु । तपाँईहरुले मेरो फेसबुक एकाउन्ट कपिल कसपाल श्रेष्ठ र युट्युव च्यानलमा कपिल कसपाल अफिसियलमा समेत सबै जानकारी पाउन सक्नु हुने छ । सामिप्यमै रहेको दशैं तिहार तथा छठको सबै नेपालीहरुमा शुभकामना टक्राउन चाहान्छु । साथै आफ्नो भनाई राख्ने अवसर दिएकोमा भक्तपुर न्यूज परिवारलाई समेत धन्यवाद दिन चाहान्छु ।