त्रिशुलीमा खसेको बस भेटियो, आठको मृत्यु , २५ घाइते

भक्तपुर न्यूज

१४ मंसिर २०७४ ४:४४

त्रिशुलीमा खसेको बस भेटियो, आठको मृत्यु , २५ घाइते

काठमाडौ, १४ मंसिर । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ। दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । मृतकहरुको अझैसनाखत हुननसकेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँ पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ ।

काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किँएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएका छन्।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ ।बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको हो। बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौंतर्फ पर्दछ । घटना बिहान ९स्१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले काठमाडौँको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *