निर्वाचनको मत सर्वेक्षण गरिए कडा कारवाहीको चेतावनी
काठमाडौँ, १२ मंसिर । निर्वाचनको प्रथम चरणको सफलतापूर्वक मतदान समाप्त भएको छ । अब दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् । निर्वाचन आयोगमा भएको सञ्चारकर्मीसँगको भेटघाटमा प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिताविपरीत हुने स्पष्ट गरे ।
निर्वाचन आचारसंहितामा उम्मेद्वारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेद्वार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । यसैकारण कसैले पनि यसो गर्नु भनेको उक्त आचारसंहिताको उलङ्घन हो भन्ने सबैले बुझ्नु आवश्यक पनि छ । यसको उल्लङ्घन भएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने जानकारी दिए । उनले अझ भने(निर्वाचन आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभाव पर्नेछ। प्रमुख आयुक्त डा यादवले निर्वाचन आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणलाई सञ्चारमाध्यममा स्थान नदिनसमेत आम सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।