प्रहरी संगठनभित्र चरम गुटवन्दी
काठमाडौं, ३० कात्तिक । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आइरहेका वेला प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशन र दबाबमा प्रहरीमा धमाधम सरुवा÷बढुवा सिफारिस गरिँदै छ । प्रहरी सरुवा÷बढुवामा चरम राजनीतीकरण भइरहेको छ । कांग्रेसका नेताहरूको नजिक रहेका प्रहरी अधिकारीहरूले मात्र अवसर पाइरहेको प्रहरी संगठनभित्रै चरम गुनासो आइरहेको छ । त्यसमा पनि राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका अधिकारीहरू पहिलो रोजाइमा देखिएको खुलासा भएको छ ।
कार्यक्षमताको हिसाबले सबैभन्दा कमजोर रहेका ‘राष्ट्रिय अनुसन्धान’ टोलीलाई मात्र अवसर दिएपछि संगठनभित्र व्यापक असन्तुष्टि बढेको प्रहरी उच्च स्रोत बताउँछ । ‘गत साता तीन जिल्लाका इन्चार्जहरू फेरिए’, प्रहरी स्रोतले भन्यो, ‘जसमा सबैजना राष्ट्रिय अनुसन्धानकै छन् ।’ कैलालीमा पठाइएका एसपी विनोद घिमिरे, सुर्खेतमा पठाइएका उमाप्रसाद चतुर्वेदी तथा पूर्वी नवलपरासीमा पठाइएका दीपेन्द्र जिसी राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृतहरू भएको बताइएको छ । कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले उनीहरूलाई नेपाल प्रहरीमा ल्याएको खुलेको छ ।
कांग्रेस नेताहरूकै सोर्सफोर्समा उनीहरूले तोकआदेशका भरमा राष्ट्रिय अनुसन्धानमा जागिर खाएको खुलेको छ । पछि तोकेआदेशकै भरमा प्रहरीमा इन्सपेक्टर बनाइएको पनि स्रोत बताउँछ । हजारौँ प्रतिस्पर्धीबीच नाम निकालेर आएका प्रहरी अधिकारीहरूभन्दा अहिले प्रहरीमा उनीहरूकै राज चलेको प्रहरी उच्च स्रोतले बताएको छ । जसरी खुमबहादुरले गृहप्रशासन चलाएका थिए, अहिले त्यसैगरी राजनीतिक आस्थाका आधारमा गृहप्रशासन सञ्चालन भइरहेको प्रहरीहरूकै गुनासो छ । खुमबहादुरकै भतिज डिएसपी विश्वराज खड्कालाई तीन साताअघि मात्र बालाजु वृत्तको इन्चार्ज बनाइएको खुलेको छ ।
त्यस्तै, राष्ट्रिय अनुसन्धानबाट आएका सिद्धिविक्रम शाह, माधव पुडासैनी, हिमालय श्रेष्ठले पनि पटक–पटक आकर्षणयुक्त इन्चार्ज पाउने गरेका छन् । हालै भएको एसपी बढुवामा पनि उनीहरूले फ्रेस अधिकृतहरूलाई पछि पारेका थिए । आइजिपी प्रकाश अर्याल निरीह भएकाले यसरी प्रहरीमा भ्रष्टहरूको राज चलेको प्रहरीकै उच्च अधिकारी बताउँछन् ।