राष्ट्रपति भण्डारी आजदेखि युएई भ्रमणमा

भक्तपुर न्यूज

२७ कार्तिक २०७४ ०:३४

राष्ट्रपति भण्डारी आजदेखि युएई भ्रमणमा

काठमाडौं, २७ कात्तिक । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ । दुई मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबार (आज) देखि हुने भ्रमणले थप सहयोग पुग्ने परराष्ट्र मामिलाका अधिकारीले जनाएको छ ।

राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणमा कात्तिक २७ गते आज त्यसतर्फ जान लागेकी छन् ।

नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् । नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको थियो । दुवै मुलुक संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न आन्दोलनका सदस्य भएको र अन्तर्रा्ष्ट्रिय मामिलामा समान धारणा व्यक्त गरिरहेको अवस्थामा आपसी सद्भावना तथा सहयोगमा आधारित हार्दिक तथा मैत्रीपूर्ण सम्बन्ध रहेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारी साथै सञ्चार माध्यमका प्रतिनिधिहरु रहनेछन् ।

भ्रमणले यी दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने धारणा राष्ट्रपतिका सञ्चार सल्लाहकार माधव शर्माले व्यक्त गरेका छन् । उनले यस भ्रमणबाट दुई मुलुकबीच श्रम, सीप तथा लगानीको क्षेत्र विस्तार गर्न निकै सहयोग पुग्ने बताए । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *