भक्तपुरमा प्लटिङका कारणले तरकारी उत्पादनमा ह्रास

भक्तपुर न्यूज

१२ कार्तिक २०७४ ७:४३

भक्तपुरमा प्लटिङका कारणले तरकारी उत्पादनमा ह्रास

भक्तपुर, १२ कार्तिक । उचाईमा बस्ती र गहिरोमा खेतीको अवधारणा ल्याएता पनि त्यसको पालना नहुँदा उत्पादन योग्य जमीन कंक्रिटको महलहरुमा परिवर्तन भइरहेको छ । बस्ती बिस्तारसँगै भक्तपुरको तरकारी उत्पादन हुने क्षेत्र दिन प्रतिदिन खुम्चदैँ जानुमा जग्गा प्लटिङ् प्रमुख कारण रहेको स्थानियहरु बताउँछन् । उपत्यकामा तरकारी खेतीको बैंकका रुपमा चिनिने भक्तपुरमा विगत केही बर्ष यता हरियो तरकारीको उत्पादन घटेको छ । उत्पादन कम भएर भक्तपुरमा तरकारीको अभाव देखिएको छ । तरकारी खेती गर्ने जग्गामा प्लटिङ हुन थालेपछि पछिल्लो समयमा भक्तपुरमा व्यवसायिक रुपमा हुँदै आएको तरकारी खेती घट्दै गएको भक्तपुरका कृषकहरु बताउँछन् । यसरी तरकारीको शहर भक्तपुरका स्थानियहरु कालिमाटीबाट आउने तरकारीमा निर्भर बन्न थालेको स्वयम् किसानहरु नै बताउँछन् ।
‘बजारमा हरियो तरकारीको माग उच्च छ, हरियो तरकारीको मूल्य बढेपनि उत्पादन भने कम हुँदै गएको छ सुर्यविनायक नगरपालिका ७ की गंगा थापा मगर बताउँछिन् । उत्पादन कम भएकाले भक्तपुरबाट दैनिक काठमाडौं लगायत बाहिरी जिल्लामा निकासी हुँदै आएको तरकारीमा समेत कमी भएको किसानको भनाई छ ।
नियमित खपत हुने तरकारी माग अनुसार आपूर्ति गर्न सकिएको छैन । भक्तपुरका व्यापारी रमिता सुवाल गाउँबाट हरियो तरकारी आउन छाडेर पछि अहिले कालिमाटीबाट ल्याएर बिक्रि गर्ने गरेको बताईन् । भक्तपुर सूर्यविनायक चोकमा एक दशकदेखि तरकारी बेच्दै आएका सुवाल बाहिरी जिल्लाबाट तरकारीको उच्च माग भएपनि निर्यात गर्न नसकिएको बताउँछिन् ।
भक्तपुर च्यामासिंहका तरकारी व्यापारी कमल मचामसीले विगतका वर्षमा यो समयमा ताथली, सुडाल, वागेश्वरी, नगरकोट, सिपाडोल, नंखेल र चित्तपोलबाट तरकारी लिएर बिक्री गर्ने गरेता पनि हाल नआएपछि आफूले कालीमाटीबाट ल्याएर बेच्नु परेको बताए । तर पछिल्ला बर्षमा भने किसानहरु तरकारी लिएर नआएपछि भक्तपुरमै पनि हरियो तरकारीको अभाव भएको उनको बुझाई छ । व्यावसायिक रुपमा भक्तपुरका विभिन्न क्षेत्रमा कृषकले काउली, ब्रो काउली, बन्दा, मूला, गान्टे मूला, गाँजर, हरियो लसुन, हरियो प्याज, धनिया, चौंसुर, पालुङ्गो, बिभिन्न जातका साग, गोलभेडाको खेती गर्दै आएका थिए । तर पछिल्ला केही बर्ष यता भने गाउँमा यस्तो तरकारी खेती घटेर जग्गा ब्यापार बढिरहेको स्थानीय कृषकहरु बताउँछन् ।
तरकारी खोज्दै ब्यापारी घरघर मै पुग्ने भएपनि व्यापारीले किसानलाई ज्यादै न्यून मूल्य दिने गरकाले पनि तरकारी खेती तर्फ आकर्षण घटेको किसान बताउँछन् । समयमा मल नपाउने, ज्याला मंहगो हुने, बिऊ अत्याधिक महंगो भएको र विषादी समेत महंगो हुने समस्याले पिरोलीरहेको बेला बढ्दो जग्गाको मूल्य भने चुलिरहेको छ । त्यसैले तरकारी खेती गर्ने किसानहरु आफ्नो व्यबसाय छाडेर जग्गा व्यापार गर्न थालेका छन् । भक्तपुरका विभिन्न स्थानहरुमा जग्गा आनाको ३ लाख देखि ६० लाख रुपैयाँमा बिक्री भइरहेको छ ।
भक्तपुरमा हिउँदे तरकारी लगाउने जम्मा क्षेत्रफल १ हजार ६ सय ६० हेक्टर रहेको जिल्ला कृषि कार्यालयको रेकर्डमा उल्लेख छ । बेमौसमी खेती गर्ने जग्गा ६ सय ६ हेक्टर मात्रै रहेको छ । भक्तपुरमा हिजोआज ब्यक्तिगत रुपमा मात्र नभई संस्था नै खोलेर जग्गा प्लटिङ गर्ने काम भइरहेको छ
भक्तपुरको शहरी क्षेत्रमा मात्रै नभई यतिबेला गाउँगाउँमा पनि जग्गा प्लटिङको क्रम बढ्दो छ । भक्तपुरको ताथली, वागेश्वरी, नगरकोट, सिपाडोल, नंखेल, चित्तपोल, सुडालहरुमा पनि वर्षेनी तरकारी खेती गर्ने जग्गा प्लटिङ गरेर घडेरीमा परिवर्तन भइरहेका छन् । यसले भक्तपुरमा तरकारी उत्पादनको घट्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *