अग्राख काठ नहुँदा सम्पदा पुनर्निर्माण प्रभावित

भक्तपुर न्यूज

७ कार्तिक २०७४ ३:२९

अग्राख काठ नहुँदा सम्पदा पुनर्निर्माण प्रभावित

भक्तपुर, ७ कात्तिक । बजारमा साल (अग्राख) को काठ नपाइँदा भूकम्पले भत्काएका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । अग्राख काठ नपाइँदा पुर्ननिर्माण भइरहेका सम्पदाको कामसमेत रोक्नुपरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । अग्राख काठको लागि अग्रीम रकम दिँदा पनि नेपाल टिम्बर कर्पोरेसन (टीसीएन) बाट काठ उपलब्ध हुन नसकेको उनको गुनासो थियो । उनका अनुसार अघिल्लो वर्ष नै कर्पोरेसनलाई काठको लागि ३५ लाख रुपैयाँ अग्रीम उपलब्ध गराइएको थियो ।

‘अग्राख काठ नहुँदा सम्पदा पुनर्निर्माण कार्य नै रोक्न परेको छ’, प्रमुख प्रजापतिले भने, ‘सम्पदालाई आवश्यक पर्ने ठूला साइजका अग्राख काठ त झनै पाउन सकिएको छैन ।’ उनले नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्दा पनि अग्राख काठ, ढुंगा, निर्माण सामग्रीलगायतको अभावले सम्पदा पुनर्निर्माण चुनौतीपूर्ण बन्दै आएको सुनाए ।

अग्राख काठ उपलब्ध नहुँदा अहिले भक्तपुर दरबार क्षेत्रस्थित करिब आधा दर्जन सम्पदा पुनर्निर्माण रोकिएका छन् । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत वत्सला मन्दिर र केदारनाथ मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।

त्यस्तै पुरातत्व विभागअन्तर्गत रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मातहत तवः सत्तल ९लामो पाटी०, फसीदेग, सिद्धिलक्ष्मी मन्दिर र राष्ट्रिय कला संग्रहालय रहेको सिंहध्वाका दरबारको उत्तर पश्चिम दिशास्थित एक भागको पुनर्निर्माण भइरहेको छ । दरबार हेरचाह कार्यालयले ठेक्कामा सम्पदा पुनर्निर्माण गरिरहेको हो ।

तर अग्राख काठ अभावले यी सम्पूर्ण सम्पदा पुनर्निर्माणको कार्य अहिले प्रभावित भएको कार्यालयले जनाएको छ । भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख इञ्जिनियर रामगोविन्द श्रेष्ठले अग्राख काठको लागि सम्भव भएसम्मका बजार धाउँदा पनि उपलब्ध हुन नसकेको जानकारी दिए । ‘अग्राख काठका लागि कैलालीको धनगढीसम्म पुग्दा पनि पाउन सकिएन’, उनले भने, ‘अग्राख काठ नहुँदा भक्तपुर तलेजुको पूर्वी लङ जीर्णोद्धार कार्य नै रोक्नु परेको छ ।’

निजी ठेकेदारहरुले भने जति भने पनि मूल्य तिर्ने गरेकाले नगरपालिकाले अग्राख काठ पाउन समस्या भएको उनी बताउँछन् । नगरपालिकाले सरकारी मूल्यमा टीसीएनसँग काठ किन्ने गर्छ । जुन बजार मूल्यभन्दा कम हो । इञ्जिनियर श्रेष्ठले बजार मूल्यभन्दा कममा काठ उपलब्ध गराउनुपर्ने भएकाले पनि निजी सप्लायर्सहरुले समेत नगरपालिकालाई अग्राख काठ उपलब्ध नगराउने गरेको बताए ।

भक्तपुरमा अहिले ठूलासाना गरी करिब दुई दर्जनभन्दा बढी भूकम्पमा क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण कार्य भइरहको छ । २०७२ सालको वैशाख १२ र त्यसपछिका पराकम्पले भक्तपुर नगरभित्रका मात्रै एकसय ३६ सम्पदामा क्षति पुराएको थियो । जसमध्ये ७४ सम्पदा पूर्ण र ६२ वटा सम्पदा आंशिक क्षतिग्रस्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *