तिहारको अन्तिम दिन आज भाइटीका मनाउँदै दाजुभाइ दिदीबहिनी

भक्तपुर न्यूज

४ कार्तिक २०७४ ४:२६

तिहारको अन्तिम दिन आज भाइटीका मनाउँदै  दाजुभाइ दिदीबहिनी

भक्तपुर ४ कार्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइ मनाउँदैछन् । टिको लगाउने उत्तम साइत रोज्नेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ भएता पनि आज दिनै भरको समयमा टिको लगाउन सकिने छ । भाइटीका शनिबारको दिन परेकाले र कालको बेला भएकाले बिहान ८ बजे अघि टिकाको साईत नभएको समेत जनाएको छ ।
टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन छ । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिले जनाएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ । यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने छ । आज पश्चिममा चन्द्रमा भएकाले लगाईमाग्ने दाजुभाइ पश्चिम फर्कँदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गथ्र्यो । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमण्डपनिर टीका लगाइदिन्छिन् ।

विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्ने गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *