आजदेखि ललितपुरमा जोरविजोर प्रणाली

भक्तपुर न्यूज

१ कार्तिक २०७४ २:०१

आजदेखि ललितपुरमा जोरविजोर प्रणाली

काठमाडौ, १ कात्तिक । जाममुक्त ललितपुरको अभियान शुरु गरेको ललितपुर ट्राफिक प्रहरीले जिल्लाको सार्वजनिक यातायातमा आजदेखि जोरविजोर प्रणाली लागु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा ललितपुर ट्राफिक प्रहरीले आजदेखि जोरविजोर प्रणालु लागु गरेको हो । यो प्रणाली लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा लागु हुने ट्राफिकले बताएको छ ।

ललितपुर ट्राफिक प्रहरीका अनुसार सो क्षेत्रमा सवारी साधानको अत्याधिक चापको साथै नयाँ बस्ती बढ्ने क्रम तीव्र रहेको हुँदा त्यसक्षेत्रमा दैनिक जाम हुने र दुर्घटनाको संख्या पनि बढ्को हुँदा यस्तो कदम चाल्न लागिएको हो । यो क्षेत्रमा ९६ वटा सार्वजनिक यातायात गुड्ने गरेका छन् । कार्तिक एक गतेदेखि एक हप्तासम्म बिजोर नम्बर मात्र सो क्षेत्रमा सञ्चालन हुनेछन् । हरेक हप्ता यो परिवर्तन हुने भएको छ ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले यसले सो क्षेत्रमा ट्राफिक जाम कम गर्ने र गन्तव्यसम्म पुग्न यात्रुहरुलाई सजिलो हुने आशा व्यक्त गरेका छन् । लखनखेलबाट गोदावारी र तौखेल जाने यात्रुहरुले सधैँ सास्ती बेहोर्दै आउनुपरिरहेको थियो । साँझ परेपछि गोदावारीसम्म जाने गाडीले गन्तव्यसम्म जान नमान्ने गरेका थिए ।

तौखेल वा बीचबाटोमै रोकेर उनीहरुले गाडी फर्काउने गरेका थिए । कहिलेकाहीँ यात्रुहरु ५ किलोमिटरसम्म हिँड्न बाध्य हुँदै आएका छन् । माइक्रोहरुले जहाँ यात्रुको भीड देख्यो, त्यहाँसम्म मात्र गाडी लाने र बीच बाटोबाटै गाडी फर्काउने गरेको गुनासो आउने गरेको हाछेथुले बताए ।

विशेष गरेर महिला र जेष्ठ नागरिकालाई अप्ठ्यारो पर्दै आएको उनले बताए । उनका अनुसार माइक्राले गाडी बिग्रियो भन्ने जस्ता बाहना बनाउने गरेका थिए । अब भने बिहान ५ बजेदेखि सात बजेसम्म तोकिएको गन्तव्यसम्म अनिवार्य रुपमा सवारी चलाउनुपर्नेछ । बीच बाटोबाट गाडी फर्काउन नपाइने भएको छ ।

अब प्रत्येक २ मिनेटको अन्तरालमा गाडीले स्टेसन छाड्नुपर्ने उनले बताए । यी नियम पालना भए–नभएको अनुगमन यातायत व्यवसायी समिति र ट्राफिक प्रहरीले संयुक्तरुपमा गर्ने सहमति समेत भएको उनले जानकारी दिए । ललितपुरलाई जाममुक्त शहर बनाउने प्रयास थालेको ललितपुर ट्राफिक प्रहरीले यसअघि ललितपुर बसपार्क सुधारको योजना कार्यान्वायन गरेको बताईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *