आयल निगमका खड्का बर्खास्त

भक्तपुर न्यूज

२ असोज २०७४ ७:५२

आयल निगमका खड्का बर्खास्त

काठमाडौं, २ असोज । इन्धन भण्डारका लागी भन्दै आयल निगमको जग्गा खरिद प्रक्रियामा अबौंको घोटाला गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरिएको छ ।  सरकारले निगमका कार्यकारी निर्देशक खड्कालाई आर्थिक अनियमितता गरेको ठहर गर्दै सोमबार बर्खास्त गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई बर्खास्त गरेको छ ।

विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताएका छने । मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो ।

बैठकमा इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिताबारे पनि छलफल भएको थियो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बस्नेतले जीएम हटाउने विषयमा आपूर्ति मन्त्रीले केही कुराहरु भनेको बताएका छन् । सोमबारको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने ठाडो प्रस्ताव क्याबिनेटमा लगेका थिए । बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले काममा असहयोग गर्ने र गुटबन्दी गरेको भनि आपूर्तिमन्त्रीले ल्याएको प्रस्तावका आधारमा उनलाई पदमुक्त गरिएको बताए ।

संसद्को विभिन्न समितिले अनियमितताको आरोप लागेका खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो । इन्धन भण्डारणको जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का पदमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो ।  निगमले विद्यमान ऐनकानुन मिचेर भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा करिब चार गुणा महँगो तिरेर अनियमितता गरेको ठहर संसदीय समितिको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *