देशैभरका पेट्रोल पम्प बन्द गर्ने ब्यवसायीको चेतावनी
भक्तपुर, २६ साउन । पेट्रोलियम ब्यवसायीहरुले विहीबार (आज) देखि पेट्रोलियम पदार्थको विक्री वितरण ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरुले आजदेखि पेट्रोलियम पदार्थको विक्री वितरण नगर्ने हिजो घोषणा गरेका हुन् । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने परिमाण क्षतीका कारण आर्थिक भार खेप्नु परेको भन्दै विक्री वितरण नै ठप्प पार्ने गरी ब्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
पेट्रोलियम पदार्थको परिमाणमा देखिएको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जानकारी दिएको छ । एशोशिएसनले विहीबारदेखि मुलुकभरका सबै इन्धन डिपो तथा विक्री केन्द्रबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने नगराउने जनाएको छ ।
एशोसियसनले साउन २९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन विक्री गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्दा क्यालिव्रेशन मापन तथा तापक्रमले परिमाणमा फरक पर्न गएकाले आर्थिक भार परेको एशोशिएनसनको भनाइ छ ।