स्थानीय तहमा जर्बरजस्ती कर्मचारी पठाउन हुँदैन् : अध्यक्ष ओली
भक्तपुर, २५ साउन । नेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा जर्बरजस्ती कर्मचारी खटाउन नहुने बताएका छन् । जर्बरजस्ती कर्मचारी खटिएपछि उनीहरुको बृद्धि विकास रोकिन सक्ने संभावना रहेको उनले बताए । एक जना निजामति कर्मचारी मुख्य सचिवसम्म हुने लक्ष्यका साथ निजामति सेवामा प्रवेश गरेको हुन्छ उनले भने ‘तर स्थानीय तहमा गएपछि सोही स्थानीय तहको स्थायी कर्मचारी भएपछि माथिल्लो बृद्धि विकास रोकिने भएकाले कर्मचारीलाई जबरजस्ती स्थानीय तहमा पठाउन हुँदैन् ।’
नेकपा (एमाले) का अध्यक्ष ओलीले जिल्ला समन्वय समितिको भूमिका साधारण नभएको बताए । उनले समन्वय समितिको काम जिल्लास्थित विषयगत कार्यालय, प्रदेश र संघसँग समन्वय गर्ने भएकाले जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण भएको बताए ।
जिल्ला समन्वय समिति भक्तपुरका नव निर्वाचित पदाधिकारीहरुलाई बधाइ ज्ञापन गर्न बुधवार आयोजित कार्यक्रममा उनले संघीय संरचनामा जिल्लाको भूमिका कम छ भनेर बुझ्नु नहुने स्पष्ट गरेका हुन् ।
सरकारको अबको कार्यभार तेस्रो चरणको स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचन निष्पक्ष रुपमा गराउनु रहेको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन नभए देशमा संवैधानिक संकट आउने बताए । कार्यक्रममा सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जिल्ला समन्वय समितिको काम माथिल्लो र तल्लो निकायसँग समन्वय गर्ने भएकाले भूमिका कमजोर नभएको बताए । निर्वाचित जनप्रतिनिधिहरुले देखिने गरी काम गर्नुपर्ने उनले बताए ।
उनले स्थानीय निकाय कर्मचारीले चलाएको भन्दा निर्वाचित जनप्रतिनिधि आएपछि फरक भएको महशुस जनताले गर्ने गरी काम गर्नुपर्ने थपलियाको भनाइ छ । जिल्ला समन्वय समिति भक्तपुरका स्थानीय विकास अधिकारी धुर्ब्रसाद कोइरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुर थिमीको उपप्रमुख अञ्जना मधीकर्मीले भक्तपुर समन्वय समितिका प्रमुख नवराज गेलाल लगायतले आआफना भनाई राखेका थिए ।
उक्त कार्यक्रममा भक्तपुरमा जन्मिएर उच्च पदमा पुगेका पूर्व मन्त्री महेश बस्नेत, पूर्व सहायक मन्त्री दिनेश श्रेष्ठ, पूर्व सचिव बामनप्रसाद न्यौपाने, वर्तमान सचिव महेश्वर न्यौपाने, शिशिरकुमार ढुङ्गाना लगायत, भक्तपुरका पूर्व जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीहरुलाई सम्मान गरिएको थियो ।