उच्च जोखिममा उपत्यकाका आकाशेपुल

भक्तपुर न्यूज

२३ साउन २०७४ २:०४

उच्च जोखिममा उपत्यकाका आकाशेपुल

भक्तपुर, २३ साउन । काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका अधिकांश आकाशे पुलहरु दिनप्रतिदिन जीर्ण बन्दै गैरहेका छन् । यी आकाशेपुलहरू जिर्ण अवस्थामा पुग्दासमेत जिम्मेवार निकाय काठमाडौ, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको ध्यान जान सकेको छैन् ।

आकाशेपुलका दायाँ बायाँका बारहरू पुराना भएर खिईदै जाँदा पुल जीर्ण बन्दै गएका हुन् । पुलका स्यालबहरू उक्किएको र कतिपय पुलका स्यालबमा राखिएका फलामे डण्डीहरू समेत पुराना भैसकेको कारण पैदल यात्रुलाई आउजाउमा समेत समस्या भैरहेको छ । तर पुलका जोखिम बढेपनि यसको मर्मत सम्भारमा महानगरपालिका लगायतका निकाय उदासिनै रहेको पैदलयात्रुहरुको गुनासो छ ।

महानगरपालिका भित्र सञ्चालनमा आएका अधिकांश आकाशेपुल जिर्ण अवस्थामा पगेको भएपनि पछिल्लो समय यी पुलको सुधारमा ध्यान जान नसकेको काठमाडौं महानगरपालिका अन्र्तगतको सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख सुमन अधिकारीले जानकारी दिए ।  महानगरपालिका भित्र सञ्चालित रत्नपार्क, जमल, भोटाहिटी, एनएसी अगाडि, सुन्धारा वीर अस्पताल छेउका साथै जडिबुटी, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा रहेका पुराना आकाशे पुलहरु अहिलेपनि जोखिममै रहेको गुनासो आएको उनले बताए ।

महानगरपालिकाले आकाशे पुलको अबस्थाका बारेमा यस अघि अनुगमन गरेपनि अनुगमनबाट आएको राय अनुसार यी पुलको मर्मत हुन नसकेको अधिकारीले जानकारी दिए । महानगरपालिकाले २० वर्षका लागि आकाशेपुल निर्माण, मर्मत सम्भार र रेखदेख गर्न इनोभेटिप कन्सेप नेपाल प्रा.लिलाई जिम्मेवारी दिइएका र यसको मर्मतमा उक्त निकाय उदासिन रहेकाले पुल जोखिममा देखिएको अधिकारीले बताए ।

तर सयौं पैदलयात्रुको सुरक्षासँग जोडिएको बिषय भएकै कारण यसको मर्मत सम्भार र निर्माणमा महानगरपालिकाका साथै नगर क्षेत्रमा नगरपालिकाहरुकै जिम्मेवारी रहने पैदल यात्रु राकेश श्रेष्ठले बताउँछन् ।  उपत्यकामा सञ्चालनमा रहेका मध्ये करिब एक दर्जनबढी पुराना पुलहरु जीर्ण अबस्थामा रहेको बताउँदै यी पुलको मर्मत सम्भारका लागी पहल भैरहेको इनोभेटिप कन्सेप नेपाल प्रा.लीले बताएको छ ।

केही समयअघि ट्राफिक प्रहरीले समेत उपत्यकामा रहेका आकाशे पुल मर्मतका लागी काठमाडौं महानगरपालिका र जिम्मेवारी निकाय इनोभेटिपलाई समेत अनुरोध गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले समेत बताएको छ । उसका अनुसार पुल मर्मतका लागी अनुरोध गरिएपनि अहिलेसम्म कसैले यस बिषयमा ध्यान दिन सकेका छैनन् ।

जीर्णका साथै अति नै जोखिममा रहेको कारण कंलकीको आकाशे पुल केही महिना अघि भत्काईएको थियो । अहिले यसको निर्माणमा समेत सो कम्पनीले उदासिनता देखाईरहेको छ । आकाशे पुलको अभावमा यात्रुलाई बाटो काट्न एकदमै समस्या हुनुका साथै ट्राफिक प्रहरीले पनि समस्या भोग्नु परेको ट्राफिक प्रहरी नै बताउँछन् ।  बसपाकर्, माछापोखरी, जडिबुटी, सल्लाघारी, सुर्यविनायक आसपासमा रहेका पुल समेत उत्तिकै जोखिममा रहेका छन् । यीनको मर्मतमा समेत नगरपालिका र सो कम्पनीको ध्यान जान सकेको छैन् । ट्राफिक देखि आम नागरिकको गुनासो आउपनि केही पुलको मर्मत गर्न खोजिएपनि नयाँबानेश्वर लगायतका कतिपय स्थानमा विवाद बढेपछि काम अघि बढ्न नसकेको प्रालीले बताएको छ ।

सो कम्पनीले आकाशेपुल मर्मत, सम्भार लगायतका जिम्मेवारी लिएवापत महानगरपालिकालाई वार्षिक २२ लाख रुपियाँ बुझाउने गरेको छ । महानगरपालिकाले आकाशेपुलका जिम्मेवारी २०५७ सालमा उक्त कम्पनीलार्ई जिम्मेवारी दिएको काठमाडौं महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यले बताए । कतिपय आकाशेपुलका स्ल्यब उक्किएकाले पुलबाट बालबालिका र बृद्धहरूलाई आवतजावत गर्न नै कठिन भएको पैदलयात्रु अशोक थापाले गुनासो गरेका छन् ।

उपत्यकामा रहेका कतिपय आकाशे पुलमा फुटकर व्यवसायीले व्यवसाय समेत सञ्चालन गर्न थालेपछि झनै समस्या भैरहेको छ । सुन्धाराको आकाशे पुलमा सामान बिक्रिमा बसेकी फुलमाया लामाले अन्यत्र ठाउँ नपाईएका कारण पुलमै आएर व्यवसाय गरेको बताईन् ।  पुलमा दिनभरी बाक्लै आवतजावत हुने र पुल जीर्ण भएका कारण जुनसुकै बेलापनि आफू लगायत पुलमा यात्रा गर्नेहरु जोखिममा पर्न सक्ने उनले चिन्ता व्यक्त गरिन् । यो मात्रै नभई उपत्यकामा रहेका सबै पुराना जीर्ण बनिरहेका आकाशे पुलको तत्काल मर्मत सम्भार गर्नु उनले काठमाडौ महानगरपालिका लगायतका सम्बन्धीत निकायसँग आग्रह समेत गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *