खेलकुदमा बाँच्न सक्ने अबस्था छ : बोस

भक्तपुर न्यूज

८ असार २०७४ ७:४४

खेलकुदमा बाँच्न सक्ने अबस्था छ : बोस

बाल्यकालदेखि नै खेलकुदप्रतिा रुचि राख्दै र खेल्दै आएका रामबहादुर श्रेष्ठ (राम बोस) अहिले पनि खेलकुदको विकासमा जुटिरहेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. ४ मा बुबा पूर्णकृष्ण श्रेष्ठ र आमा सानुमाया श्रेष्ठका जेठा छोराका रुपमा जन्मिएका उनी अहिले भारोत्तोलन संघलगायतका करिब एक दर्जन खेलको व्यवस्थापनमा आबद्ध छन् । उनी हाल थ्रि स्टार क्लबको मेनेजर पनि हुन् । भक्तपुरमा खेल क्षेत्रमा विकासको अथाह सम्भावना देखेका बोस भन्छन् खेलाडीका लागि सबै भन्दा उचित रंगशाला नभएसम्म खेल क्षेत्रको विकास हुन सक्दैन् । उनै बोससँग भक्तपुरन्यू डटकमकर्मीले गरेको कुराकानीको सारसक्षेप :-

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
– भारोत्तोलन संघले केही समयभित्रै राष्ट्रियस्तरको प्रतियोगिता गर्दैछ त्यसैमा आजभोलि व्यस्त रहेको छु ।

नेपालमा भारोत्तोलन खेलको अबस्था कस्तो छ ?
– पहिलाको तुलनामा अहिले यो खेलप्रति आमदर्शक र नागरिक तथा खेलाडीको आकर्षण बढेको छ । अहिले हामीले देशका ७५ वटै जिल्लामा शाखा गठन गरेका छौं । जिल्लातहबाट पनि राम्रै खेलाडी उत्पादन भैरहेका छन् । यसैले समय सापेक्ष यो खेलको महिलामा बृद्धि हुँदै गदैरहेको छ ।

समस्या के कस्ता छन् ?
– यो खेल ठूलो खेल हो । यसको विकासका साथै खेलाडीको व्यवस्थापनका लागि ठूलै बजेटको आबश्यक पर्छ । सरकारले यो खेलका लागि आबश्यक मात्रामा बजेट दिन सकेको छैन् । यो एउटा समस्या हो । यस्तै खासमा खेल मैदानको समस्या नै प्रमुख समस्या बनेको छ । समस्या समाधान गरी खेलाडीको मनोबल बृद्धिका लागि सरकार उदासिन छ । सरकारले बजेटको व्यवस्थापन अन्य खेलमा जस्तै यसमा पनि गर्नुपर्छ । यो खेलको मात्रै नभई भक्तपुर जिल्लामा सबै खेलका लागि खेल मैदान निर्माण जरुरी छ ।

खेलकुदमा राजनीतिक हस्तक्षेप कस्तो देख्नुहुन्छ ?
– राजनीति सबै कुरामा हावी छ । खेलकुद पनि अछुतो छैन् । तर पहिलेको तुलनामा अहिले अलि कम हस्तक्षेप देखिन्छ । खेलकुदमा पनि नातावाद, कृपावाद र दयावादले सताएकै छ ।

खेलबाटै खेलाडीले जीविकोपार्जन गर्न सक्ने अबस्था कस्तो छ ?
-अहिले खेलकुदमा लागेर बाँच्न सक्ने अबस्था छ । विदेशीको दाँजोमा त हामी जान नसकौला तर नेपालमा खेलकुदमा लगनशिल भएर लाग्न सकियो भने अहिले बाँच्ने वातावरण बनेको म देख्छु । एउटा खेलाडीले कति कमाउने भन्ने बारे त्यो त खेलाडीमै भर पर्छ ।
तपाई थ्री स्टार क्लबको मेनेजर पनि हुनुहुन्छ ? के छ थ्री स्टारको अबस्था ।
थ्री स्टार नेपालकै उत्कृष्ट क्लब मध्येको एक हो । यसले आफ्ना नियमित गतिविधि गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफनो प्रतिनिधित्व देखाएकै छ । फुटबलको विकास र गुणस्तरीय खेलाडी उत्पादनका लागि क्लब निरन्तर सत्रmिय रुपमा लागि रहेको छ । अहिले क्लबको अबस्था र क्लबले खेल्ने भूमिका राम्रै छ ।

एन्फा र थ्रि स्टारबीचको विवाद कहाँ पुग्यो ?
– एन्फा र थ्रि स्टारबीच केही समयदेखि विवाद बढेकै हो । एन्फाले थ्रि स्टारका मलेसियामा हुने खेलका लागि आएको निमन्त्रणा नै क्लबमा नपठाएपछि विवाद बढेको हो । यो विवादले एन्फा गैरजिम्मेवार देखिएको पक्कै छ । तर पछिल्लो समय विवाद समाधानका लागि छलफलकै क्रममा छौ । सायद अब केही समयमै एउटा निर्णय आउला ।

सरकारले भारोत्तोलन लगायतका खेलका समग्र विकासमा के गर्नुपर्ला ?
– खेलकुद भनेको देशको पहिचान पनि हो । यो जीवन स्वच्छ राख्ने एउटा विधि पनि हो । यसमा सरकार तथा अन्य निकायले गम्भीर हुनुपर्छ । सरकाले बिशेषत सबै खेलका लागि आबश्यकता अनुसारको बजेट दिन सक्नुपर्छ । यस्तै, सबै खेलका खेलाडीलाई सहजताका लागि खेल मैदान निर्माण, प्रशिक्षक उपलब्धता, गराउनुपर्छ । यसो भएमा खेलकुदको समग्र विकास हुने छ भने देशको शिर उच्च राखने काममा पनि टेवा पुग्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *