भक्तपुरमा चुनावी रणनीति सफल भएको दावी : पूर्वमन्त्री बस्नेत

भक्तपुर न्यूज

२१ जेठ २०७४ ६:२६

भक्तपुरमा चुनावी रणनीति सफल भएको दावी : पूर्वमन्त्री बस्नेत

‘तत्कालिन युवा संघ अध्यक्ष तथा पूर्व उद्योगमन्त्री एवम् एमालेका युवा नेता महेश बस्नेत पछिल्लो राजनीतिक परिपेक्षमा एमालेभित्र मात्रै नभई अन्य राजनीतिक बृत्तमा पनि उत्तिकै चर्चामा छन् । भक्तपुरमा एमाले कमजोर छ, महेशको आधार बलियो छैन र उनी केपी ओलीको चाकरी गरेर नेता भएका हुन् भन्ने आरोपलाई उल्टाईदिएका छन बस्नेतले यतिबेला । भक्तपुरका ३ वटा नगरपालिकामा भएको स्थानीय हतको निर्वाचनमा एमालेकै पक्षमा जित दिलाउन सफल भएका छन उनी अहिले यस्लेपनि उनको चर्चा अझै बढेको छ नेपाली राजनीतिक बृत्तमा यतिबेला । उनै युवा नेता महेश बस्नेतसँग समसामयिक राजनीतिक अबस्था र स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेर भक्तपुरन्युज डटकमका लागि कमल न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप :
भक्तपुरमा कांग्रेस र नेमकिपाको गढ एमालेले तोड्यो भन्ने छ नि बास्तवमै गढ तोडिएकै हो त ?
– भक्तपुरका मतदाताको मनोविज्ञान नेमकिपासँग असन्तुष्ट हुँदा काँग्रेसलाई मत लिने र काँग्रेससँग असन्तुष्ट हुँदा नेमकिपालाई मत दिने हो । पछिल्लो ३/४ बर्षको मेहेनतले नेमकिपा वा काँग्रेससँग असन्तुष्ट मतदाताले एमालेलाई मत दिने अबस्था बन्यो । त्यो भन्दा अघि एमाले प्रतिस्पधी नै होईन भन्ने देखिन्थ्यो । बिशेषगरी ३ बर्षमा जनताको सेवामा यहाँको विकासमा, जुन भूमिका खेल्यौ अझ भूकम्प पछाडि पीडितहरुलाई राहत उद्दार पुनस्थापनामा हामीले गरेको सहयोगलाई यहाँका मतदाताले अहिले आएर अनुमोदन गरिदिए । जसका कारण विगतमा आफनो गढ भनेर मख्ख पर्ने जनताको सेवामा ध्यान नदिने शक्तिहरुले आफनो परम्परागत गढ भत्किएको पत्तै पाएनन् ।
स्थानीय तहको निर्वाचनमा एमालेले करोडौ रुपैयाँ बाँडेर मत खरिद गरेको आरोप छ नि ? महेश बस्नेतको भागमा कति करोड थियो ?
– अब यो आरोप चाँही प्रतिस्पर्धामा हारलाई सहज ढंगले लिन नसक्ने कतिपय साथीहरुले लगाएको आरोप हो । भक्तपुरको मतदाताले हामीलाई दिएको मत विल्कुल शुद्ध र पवित्र मत हो । दालमोठ चिउरा खाएर कार्यकर्ताले खटेर प्राप्त गरेको मत हो । हामीलाई भोट नदिए नगरपालिकाको सिफारिस दिन्न, विकासको बजेट दिन्न, जस्ता असंख्यीय प्रलोभन र दबाबमा नपरेको भोट हो । जहाँसम्म पैसा बाँडेको सवाल छ एमालेले सरकारमा रहँदा र म स्वयमं् एक बर्ष मन्त्री भैरहँदा भक्तपुरमा २ वटा सेटलाईट सिटी हनुमन्ते करिडोर मनोहरा करिडोर, अन्तराष्ट्रिय प्राणी उद्यान केन्द्र आधुनिक वीर अस्पताल निर्माण गर्न र मेलम्चीको खानेपानी पहिलो चरणमा भक्तपुरमा पार्दै कटुञ्जे र टिगिनीमा ७ करोड लिटरको टंकी बनाउनुका साथै विभिन्न ४० बढी सडक विस्तार गर्न ४ अर्बबढी रकम विनियोजन गर्न सफल भईयो । यसरी सिंहदरबारमा पानी बाराबारको सम्बन्ध रहेको भक्तपुरमा अबौं रकम ल्याएर विकास गर्ने कुरालाई कसैले त्यो अर्थमा बुझेको हो भने त्यो सकारात्मक कुरा हो । भूकम्पपछि पनि मानवीय आस्था नेपाल निर्माण गरी ४ करोड बढी सहयोग जुटाएर भुकम्पपीडितलाई सहयोग गरियो । अहिले पनि २२५ जना गरीब बालबालिकालाई निशुल्क पढाईदैछ र ३०० महिलालाई सीपमुलक तालिम प्रदान गरिदैछ । यस्तो कुरामा प्रतिस्पधी मित्रहरुले आलोचना गर्ने भन्दा प्रतिस्पर्धा गर्नेतर्फ लाग्नुपर्दछ । तसर्थ हामीले एउटा नारा बनाएका छौ ‘राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यवद्धता गरौं ।’
लडाईँको मोर्चा जितेको भन्दा हारेको सिपाहीले बुझ्छ भनेझैँ महेशले संसदीय चुनाव हार्दा र अहिले एमालेले नगरमा जित्दा कस्तो महशुस भैरहेको छ ?
– दोस्रो संविधान सभाको निर्वाचनमा म प्रतिस्पर्धा गरिरहँदा हार्न तयार भएर नै आएको थिए । कारण ः भक्तपुर एमालेको लागि पत्झड क्षेत्र नै थियो । हार पछाडिको परिस्थितिलाई मैले सहज ढंगले आत्मसाथ गरे र भक्तपुरको जनतामा एमालेको भिजेको छैन र म आफै पनि जनताको सेवामा जति लाग्नुपर्ने हो लाग्न सकेको रहेनछु भन्ने महशुस गरे । त्यसलाई मैले शिक्षाको रुपमा लिएर यी गएका ३ बर्षहरुमा म पूर्ण रुपले जनताको सेवामा समर्पित भए । जनताका व्यक्तिगत समस्यादेखि उनीहरुको घरपरिवारमा परेका सुख दुःखमा ऐक्यबद्धता जनाउन सहभागि भए । आफुले सक्दो विकास निर्माणको काम पनि गरे । आम मतदाताले आफूले जिताएको प्रतिनिधि बेखबर भैरहँदा हारेको प्रतिनिधी घर आगनमा सहजै पाउन कुरालाई सम्मान गर्दै यस निर्वाचनमा हामीलाई मतदान गरी विजयी गराए । यसबाट के पाठ सिक्न सकिन्छ भने सेवा गरे मेवा मिल्छ भने झै जनभावनाको कदर गर्न सके पक्कै सफल भईन्छ ।
विपक्षीको मत एमालेमा धेरै आयो भन्ने छ यसमा जाँदु के थियो ?
– स्थानीय तहको निर्वाचन भएको हुनाले सहि व्यक्ति र उम्मेदवार छनोट गर्न सक्नु यसको एउटा महत्वपूर्ण पाटो हो । आफना असहमत भएका व्यक्तिहरुलाई सम्झाउन सक्नु अर्को महत्वपूर्ण पाटो हो । फरक आस्था राख्ने प्रतिस्पर्धी दलका साथीहरुको दलको मत आकर्षण गर्नसक्नु पनि अर्को पक्ष हो । यसरी हेर्दा हामीप्रतिको आकर्षण न्युटल मतदाताको मात्रै होइन अन्य पार्टीका नेता कार्यकर्ताको पनि प्रशस्तै देखिन्छ । राप्रपाको जिल्ला उपाध्यक्ष, कोषाध्यक्ष लगायत बहुमत टीम एमाले प्रवेश गरिसकेको थियो । काँग्रेस र नेमकिपाका धेरै साथीहरु एमालेमा प्रवेश गरिसक्नु भएको थियो । ३ बर्षको बिचमा हामीले हाम्रो संगठित सदस्य ३ गुना बढाईसकेका थियो । यी सबै कुरा हामीले चर्चामा नल्याएर गरेका थियौ । कारण प्रतिस्पधीहरु चनाखो भएर रोक्ने र थप सक्रिय हुने कुरा नगरुन भन्ने हाम्रो चाहना थियो । वास्तवमा यसपालि साईलेन्स डेप्लोमेशीले नै भक्तपुरमा काम ग¥यो । हाम्रो मतदाता धेरै कार्यकर्ताको मनोबल कम काँग्रेस÷नेमकिपाको मतदाता घटेपनि कार्यकर्ताको मनोबल बढी नै थियो । यस्तो ठाउँमा हामीले अबलम्बन गरेको यो रणनीति काम योग्य देखियो ।
सभ्य भाषामा भन्दा महेश विद्रोही र अन्तरमुखी व्यक्ति हो भन्ने आरोप पनि छ महेशको वास्तविक रुप के हो ?
– यो आरोप चाँही मैले जतिखेर युथ फोर्स र युवा संघको जिम्मा लिए त्यो समयमा मेरै पार्टी भित्रका मेरो मिशनमा असहमति राख्ने कतिपय नेताहरुले लगाएको आरोप हो । न मेरो स्वभाव बिद्रोही छ न त अन्तरमुखी । सामान्यतया मेरो स्वभाव भनेको जनसेवी, सरल र सहज ढंगले साथीभाईसँग घुल्मुल गर्न सक्ने समस्याका महल उठाउने होईन समाधानका विकल्प दिनसक्ने व्यक्तिका रुपमा साथीहरुले मुल्यांकन गर्नुपर्छ जस्तो लाग्छ । मेरो व्यक्तिगत जीवनसरल, पारदर्शी, कुनै महत्वकाक्षां नभएको मिलनसार नै छ । जो नयाँ साथीले मसँग संगत गर्नु हुन्छ तपाईको बारेमा हामीले केके सुनेका थियौ । वास्तवमा हामी भ्रममा रहेछौ भन्नुहुन्छ । पछिल्लो बेला मेरो बारेमा विगतमा नकरात्मक टिप्पणी गर्ने मिडियाले पनि सकारात्मक टिप्पणी गर्न थालेको देख्छु । यसमा मेरो स्वभाव बदलिएको होईन मलाई हेर्ने साथीहरुको दृष्टिकोण बदलिएको हो भन्ने लाग्छ ।
माओवादी र राप्रपाले मत बेचे, एमाले (महेश) ले खरिद ग¥यो भन्ने कुरामा कतिको सत्यता छ ?
– यसमा आधा सत्यता छ । बिशेष गरेर साना दलहरुले निर्वाचनका बेलामा आफनो मतलाई अन्य दललाई सहयोग गर्ने चलन छ । अघिल्लो संविधान सभामा माओवादी बैद्य समूह, माले, अखण्ड नेपाल जस्ता पार्टीले अन्य दललाई मत सहयोग गरेको देखिन्छ । यस पटक पनि देशभरीको मतको पद्धतीलाई हेर्दा कतिपय ठाउँहरुमा राप्रपा र माओवादीले आफनो मत अन्य पार्टीलाई सहयोग गरेको देखिन्छ । जहाँसम्म भक्तपुरको सवाल छ हामीले जितेका नगरपालिकाहरुमा मेयरको भन्दा उपमेयरको बढी मत छ र ? मतान्तर पनि बढी नै छ । राप्रपा र माओवादीका साथीहरुले वडाअध्यक्षले पाएको मत भन्दा सम्बन्धित वडामा मेयरले पाएको मत निकै कम छ त्यो मत सूर्यविनायक र चाँगुनारायणमा काँग्रेसको उम्मेदवारले प्राप्त गरेको देखिन्छ । भोट नै बेच्नु भो भन्न स्तरको आरोप त म लगाउँदैन तर एमालेलाई असफल बनाउन काँग्रेसलाई मतदान गरेर सहयोग गर्नु भएको चाही पक्कै हो ।
चितवनमा समेत महेश बस्नेतकै इशारामा माओवादी केन्द्रका स्थानीय नेतालाई युवा संघले ज्यान मार्ने धम्की दिएको भन्ने आरोप छ नि ?
– युवा संघको पुर्व अध्यक्ष र सफल अध्यक्ष भएका नाताले स्वभाविकै युवा संघसँग जोडिएका कतिपय सवालहरु मसँग पनि जोडिने गर्छन । भरतपुरको मतपत्र च्यातेर माओवादीले लोकतन्त्र माथि नै धावाँ बोलेको छ । हार स्वीकार गर्न नसक्ने अधिनायकबादी शैली प्रर्दशन गरेको छ । जसको विरुद्ध युवा संघ नेपाल र नेकपा एमालेले आन्दोलन नै घोषणा गरेको छ । युवा संघलाई माओवादीले ज्यान मार्ने धम्की दियो भनेर लगाएको आरोप भनेको डाकाहरुले गाउँ लुटेको ठिकै हो केटाहरुले डाका लखटेर पुलिस बोलाउने काम भने गलत गरे भने जस्तै हुन्छ ।
केपी ओलीसँगको तपाईले राजनीतिक उचाई हासिल गर्नु भन्ने कुरामा कतिको सत्यता छ ?
– म कुनै ठूलो खान्दानी परिवारबाट राजनीतिमा आएको व्यक्ति होईन । म श्रमजीवी किसान परिवारबाट राजनीतिमा आएको व्यक्ति हुँ । मेरो राजनीतिक जीवनमा नेताको आर्शिवाद भन्दा मेरो कर्म र परिश्रमले नै बढी प्रभाव पारेको छ । जहाँसम्म पार्टी अध्यक्ष ओलीसँगको मेरो सम्बन्ध छ केपी ओली भनेका वर्तमान राजनीतिक बृत्तमा एउटा चम्किला तारा हुन भन्ने कुरा केपी ओली कुनै पावरमा नहुँदा र स्वयम, एमालेभित्र उनलाई अनेक खालका लालचना लगाएर कमजोर बनाएको बेला हामी केही युवा साथीहरुले यो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री एक पटक केपी ओलीलाई बनाउनुपर्छ भनेर लाग्यौ । त्यो लागे बाफत झण्डै कारवाहीको शिकार हुन लागेको एउटा पात्र म पनि हुँ । आज केपी ओली जुन स्थानमा पुग्नु भो, त्यो स्थान बन्ला र त्यसबाट लाभ लिउँला भनेर हामीले उहाँलाई साथ दिएको होईन । हिजो अप्ठारो बेलामा हामीले उहाँलाई साथ दिएको हुनाले उहाँसँगको सम्बन्ध पारीवारीक खालको रहयो । म जब पार्टी केन्द्रीय सदस्यको निर्वाचन र संविधान सभाको निर्वाचनमा पराजित भएको थिए त्यतिखेर म मा निराशा नआहोस भनेर उहाँ निकै चिन्तीत भएको मैले पाँए । जसको कारण उहाँले मलाई म भन्दा धेरै सिनियर साथीहरुलाई टपेर मलाई मन्त्री बनाईदिनु भो । यो मेरो राजनीतिक जीवनको निकै नै महत्वपूर्ण क्षण थियो । महेश बस्नेतको जनाधार छैन केपी ओलीको आर्शिवादले नेता बन्यो भनिरहेको बेला भक्तपुरमा अहिले भएको स्थानीय तहको चुनावलाई एमालेको पक्षमा ल्याएर त्यो आरोप खण्डन भएको छ । त्यसो भएको हुनाले केपी ओली प्रधानमन्त्री भएको त्यो क्षणलाई मैले मेरो कुनै व्यक्तिगत लाभमा परिणत गर्न चाहेन् । प्रयोग गरे त केबल भक्तपुरको जनताको हितमा प्रयोग गरे । केपी ओलीले महेश बस्नेतलाई माया गर्छन त्यो सत्य हो, तर त्यो महेश बस्नेत जसले इमान्दारीताका साथ दिएको जिम्मेवारी पुरा गर्छ र जनसेवामा समर्पित भएर लाग्छ । यस मानेमा केपी ओलीको माया पाउने मेरो अधिकार पनि हो ।
तपाईले ‘म महेश’ भन्ने आत्मबृत्तान्त लेखनमा अलि हतार गरेको जस्तो लाग्दैन ?
– मेरो राजनीतिक जीवन निकै आरोह अवरोह पूर्ण छ । मेरा जिम्मेवारी पनि बिल्कुल फरक फरक खालका मैले पुरा गरे । बिशेष गरी युथ फोर्स र युवा संघको जिम्मा लिईरहेको बेला मेरो राजनीतिक जीवनमा र व्यक्तिगत जीवनमा पनि अनेक खालका भ्रम पूर्ण टिकाटिप्पणीहरु समाचारहरु बने । जसको बारेमा स्पष्टिकरण दिनुपर्ने अबस्था थियो । मेरो पुस्ता जसले पञ्चायतको अन्तिम क्षण पनि देख्यो असफल बहुदलिय व्यवस्था पनि देख्यो १० बर्षे माओवादी युद्ध पनि देख्यो, दरबार हत्याकाण्ड र शाही शासन पनि देख्यो अनि विश्वकै एतिहासिक १९ दिने जनआन्दोलन पनि देख्यो । हाम्रो राजनीतिक जीवन युद्ध, संघर्ष र आन्दोलन मै वित्यो । नयाँ शान्त, र समृद्ध नेपाल निर्माण गर्ने अभिभारा अबको राजनीतिमा आईरहेको बेला म र मेरो पुस्ताको त्यो संघर्षको गाथा धेरै नयाँ साथीहरुका लागि प्रेरक हुन सक्छ भनेर सामान्यतया जीवनको उत्तरार्धमा लेखिने आत्मबृत्तान्तलाई मैले युवा उमेरमा नै लेखे । मुलुकको र म स्वयमंको कार्यभार हकअधिकार प्राप्तीको संघर्ष गर्ने चरणबाट जनताको सुख शान्ति र समृद्धितर्फ अगाडी बढेको भन्ने निष्कर्षका साथ त्यो कतिाब मैले लेखेको हुँ । अब मैले लेख्ने दोस्रो खण्डको किताबमा सुख, शान्ती र समृद्धि प्राप्तीमा हामीले खेलको भूमिकाको चर्चा हुनेछ ।
अन्त्यमा …………… ?
– स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरी जिताउनु हुने भक्तपुरका सबै मतदातालाई धन्यवाद दिन्छु । साथै मलाई यहाँ बोलाएर आफनो कुराहरु राख्ने अवसर दिएकोमा भक्तपुर न्यूज डटकमप्रति आभार व्यक्त गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *