सूर्यविनायकलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउँछु : बिष्णुराज कार्की
भक्तपुर जिल्लाकै नेपाली काँग्रेसको राजनीतिक बृत्तमा युवा नेता बिष्णुराज कार्की सबैमाझ चर्चित मुहार हो । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघदेखिनै राजनीति नेतृत्व समाल्दै आएका उनी यती बेला सूर्यबिनायक नगरपालिकाको प्रमुख उम्मेदवार मेयरको पदको लागि तयारीमा जुटेका छन् । नेबिसंघका केन्द्रिय सदस्य, सह–महामन्त्री, नेपाली काँग्रेस जिल्ला समिति सदस्य, सचिब हुँदै हाल महासमिति सदस्य रहेका कार्की मेयरको आंकाक्षी भएको चर्चाले नगरका नागरिकले यस नगरको समग्र विकास र समृद्धिको आशा र अपेक्षा समेत गरेका छन् । उनै चर्चित युवा नेता कार्कीसँग निर्वाचन र निर्वाचनको चहलपहलका भक्तपुर न्यूज डटकमका सहकर्मी कमल न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप :–
सूर्यविनायक नगरको निर्वाचन अबस्था कस्तो देख्नुहुन्छ ?
– सूर्यविनायक नगर काँग्रेसमय क्षेत्र हो । यस क्षेत्रमा युवाहरुले काम गर्ने अवसर प्राप्त गर्नेमा आशावादी रहेको छु । यो नगरमा रहेका सबै वडामा काँग्रेसको पकड बलियो रहेको बिगतका निर्वाचनहरुले समेत प्रष्टाएको छ । लामो समय सम्म यस क्षेत्रलाई बुझेको काँग्रेसले युवा पुस्तालाई नेतृत्व पदको उम्मेदवारी प्रदान गर्नेमा आशावादी रहेको र काँग्रेसको बिजय पनि निश्चित रहेको देखिन्छ । युवाले यो पटकको स्थानीय तहमा प्रमुख पदको उमेदवारी पाउने चर्चासँगै हरेक तह र तप्का निर्वाचनको ब्यापक प्रचार प्रसारको माहोलमा लागि सकेका छन् ।
नगर प्रमुख पदमा काँग्रेसबाट १६ जना आंकाक्षी छन नि ?
– हो जिल्लामा भएका सबै नगरपालिका भन्दा यो नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारको संख्या धेरै छ । यस बिषयमा हरेक दिन पार्टी बृत्तमा छलफल बहस भैरहेको छ । पार्टीले पनि सबै आंकाक्षीमध्ये जसले काँग्रेसमा त्याग गरेको छ । संगठन विस्तारका लागि लागि परेको छ त्यसैलाई छनौट गर्छ । काँग्रेसमा गरेको लगानी र युवाको चाहानाका साथै जनमतका आधारमा म पनि एउटा आंकाक्षी हो । लाग्छ, जनमतको आधारमा पनि पार्टीले अन्तमा मलाई नै टिकट दिन्छ भन्ने मलाई पूर्ण आश छ ।
मेरो पारिवारीक पृष्ठभूमि नै पनि काँग्रेस हो । मेरो हजुरआमा थिरकुमारी कार्की जेल वेथित गर्ने भक्तपुरको पहिलो महिला हो । उहाँले २०१७ देखि २०२२ सम्म जेल जीवन विताउँनु भो । मेरो पिताजी स्वर्गीय श्यामबहादुर कार्की साविक वालकोटको गाविस अध्यक्ष पनि हुनुहुन्थ्यो । यो सँगै म आफै विद्यार्थी संगठनमा २०४६ सालदेखि नै काँग्रेसमा लागिरहेको छु ।
तपाईले नै टिकट पाउने आधारहरु के के छन् ?
– पहिलो कुरा त म युवा, समाजसेवी, म निरन्तर पार्टीप्रति बफादार सिपाही हुँ । मसँग नगरको विकास थुप्रै योजनाहरु छन् ।
मैले गरेको अनुभवका आधारमा पनि अहिले नगरप्रमुखका लागि म योग्य छु भन्ने लागेको छ । यी विविध कारणले गर्दा नै अन्तत मैले नै टिकट पाउनुपर्छ भन्ने हो ।
तपाई नगर प्रमुख हुनुभयो भने तपाईका योजना के के छन् ?
– म नगर प्रमुख भएको अबस्थामा सबैभन्दा पहिला त सूर्यविनायक क्षेत्रको सडक विस्तार गर्छु । यसैक्रममा खानेपानी समस्या समाधानका लागि पहल गर्छु । यससँगै यहाँको विकास, ढल निकासा, शिक्षा, स्वास्थ्य र सूर्यविनायकलाई धार्मिक पर्यटकीय नगरपालिकाको रुपमा विकास गर्ने तर्फ लागिपर्ने छु । किसानका समस्या समाधानका लागि पहल गर्छु । युवाहरुलाई प्राविधिक शिक्षातर्फ लैजाने, युवालाई कृषिमा समाहित गरेर आधुनिक कृषितर्फ उन्मुख गारउँनेछु । कृषकका अहिले देखिएको सबै खाले समस्या समाधानका लागि र स्थानीय तर्वरमा रहेको उत्पादनको बृद्धिका लागि स्रोत साधान र सरकारी अनुदानको आबश्यकता अनुसार व्यवस्था गर्छु । रोजगारीका लागि विदेश जान बाध्य हुने आम युवाहरुलाई स्वदेशमै सिपमुलक र उत्पादनमुलक पेशामा लगाएर उनीहरुलाई आत्मनिर्भर बनाउने अभियानमा सधै लागिरहनेछु । यस नगरमा रहेको फोहरमैला व्यवस्थापन गर्न बिशेष योजना आफूसँग रहेको छ ।
अन्त्यमा केही भन्नुछ ?
– नगरबासीलाई समृद्ध बनाउनका लागि मबाट हुने सम्पूर्ण सहयोग र प्रयास जारी राख्नेछु । स्वास्थ्य , व्यवसायीक शिक्षा र कृषि क्षेत्रको समृद्धमा बिशेष पहल गर्नेछु । पार्टीले विश्वास गरेर मलाई टिकट दिएपछि र जनताले मन जितेर मतदान गरी जिताएपछि सूर्यविनायक क्षेत्रको समृद्धिका लागि पर्ने प्रतिबद्धता जनाउँछु । यसैले मलाई सहयोग गर्न काँग्रेस पार्टीका नेतादेखि कार्यकर्ता र सूर्यविनायक बासीमा अनुरोध गर्छु ।