साझा बस आजदेखि नयाँ रुटमा, आपांगमैत्री बसले कहाँ–कहाँ दिनेछन त सेवा ?

भक्तपुर न्यूज

१२ मंसिर २०७३ ५:५६

साझा बस आजदेखि नयाँ रुटमा, आपांगमैत्री बसले कहाँ–कहाँ दिनेछन त सेवा ?

काठमाडौं, १२ मंसिर । साझा यातायातले आजदेखि नयाँ अपाङ्गमैत्री बसमार्फत सेवा सुरु गर्दैछ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक कार्यक्रमका बीच साझाका नयाँ बसको सेवा औपचारिकरूपमा सुरुवात गर्नेछन् । अब थप नयाँ रुटमा अझ स्तरीय रुपमा सेवा दिन साझा यातायत तयार बनेर आएको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।
आज बिहान १० बजेदेखि काठमाडौं उपत्यकाभित्र तय भएको नयाँ रुटमा साझा बस सञ्चालन हुँदैछ । गत मंसिर १ नै यातायात व्यवस्था विभागबाट साझाले नयाँ रुट अनुमति पाएको थियो । साझाले नयाँ रुटसहित पुरानोमा विस्तार गरेर ४ वटा रुटका लागि इजाजत पाएको छ । नयाँ रुटअनुसार आजदेखिअन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका यात्रुले आफ्नो लगेज साझा बसमै राखेर नयाँबसपार्कसम्म पुग्न सक्नेछन् । यसले विशेष गरेर विदेशबाट फर्किनेहरु बढी लाभान्वित हुनेछन् । साझाले आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म सेवा थाल्दैछ । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वमा ३० वटा नयाँ बस किनेर ल्याएको हो ।

साझा चल्ने नयाँ रूट

रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चल्नेछ। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस चल्नेछन् ।

रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्नेछन् । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस चल्नेछन् ।

रुट नम्बर ३ः यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाउँदैछ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस चल्नेछन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन हुनेछ । यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस चल्नेछन् ।

साझाले अाजदेखि काठमाडौंमा ३८ वटा बस चलाउने छ । साझाका ८ वटा बसले काठमाडाैंबाट गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जका यात्रुलार्इ पनि सेवा दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *