पेट्रोलियम ट्यांकर चालकले आन्दोलन स्थगित
विराटनगर, ८ मंसिर । पेट्रोलियम ढुवानी रोकेर आन्दोलन थालेका ट्यांकर चालकले भोलि बिहानबाट ढुवानी थाल्ने भएका छन् । नेपाल आयल निगमका पदाधिकारीसँँग भएको छलफलपछि ढुवानी सुरु गर्ने तय भएको हो । तापक्रम नाप्ने विषयमा चालकले आन्दोलन थालेपछि तीन दिनदेखि इन्धन ढुवानी ठप्प रहेको छ ।
भारतबाट ल्याएको इन्धन आयल निगम क्षेत्रीय कार्यालय विराटनगरबाट पम्पसम्म नलग्दा समस्या भएको छ । ट्यांकर मजदुर संघका अध्यक्ष केशव आचार्यले आफूहरु सहमतिको नजिक पुगेको बताए । २ सय ७० वटा ट्यांकर पम्पसम्म ढुवानी नगरी निगम अगाडि पार्किङ गरेर मजदुर आन्दोलनमा उत्रिएका छन् ।
निगमले भारतको बरौनीबाट ल्याइएको पेट्रोलियम पदार्थको टेम्प्रेचर जाँच ट्यांकरको बीच भागबाट गर्दा आफूहरुलाई घाटा हुने गरेको जनाउँदै मजदुरले तल्लो भागबाट टेम्प्रेचर जाँच गरेर लस दिनुपर्ने माग गर्दै आएका छन् ।
परीक्षण गर्दा तल्लो र माथिल्लो भागमा दुई डिग्रीको फरक पर्छ । एक डिग्री बराबर पेट्रोलमा २१ लिटर र डिजेलमा १५ लिटर हुन्छ । आयल निमग क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले मजदुरका मागको सम्बोधन हुने क्रममा रहेको बताए ।