बर्दियामा ४२ प्रतिशतले पर्यटक बढे

भक्तपुर न्यूज

७ कार्तिक २०७३ १६:५३

कात्तिक, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ। यसवर्ष पछिल्लो तीन महिना (साउन, भदौ र असोज)मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३ जना गरी जम्मा एक हजार २२१ पर्यटक बर्दिया निकुञ्ज भित्रिएका थिए।
अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४३१, सार्क र अन्य मुलुकका २७९ जना गरी जम्मा ७१० पर्यटक निकुञ्ज अवलोकनका लागि आएका थिए।
hati-safari-tourist
अघिल्लो वर्ष यसै अवधिको तुलनामा यस वर्ष ५०२ जना पर्यटक बढेको निकुञ्जको अभिलेख छ। सेप्टेम्बरदेखि अप्रिलसम्मको अवधि पर्यटकका लागि मुख्य समय मानिन्छ। मौसमको सुरुवातमै पर्यटक ह्वात्तै बढेका छन्।
 विगतका वर्षका तुलनामा आन्तरिक र विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको निकुञ्जको भनाइ छ। नाकाबन्दीका बेला पर्यटकको सङ्ख्यामा कमी आए पनि नाकाबन्दी हटेसँगै पर्यटकको आगमन बढेको हो।
tharu-dance
पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडालगायत अन्य जनावरको सङ्ख्यामा वृद्धि भएको चर्चामा भएपछि निकुञ्ज घुम्न आउनेको सङ्ख्या बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए।
हिजोआज निकुञ्जमा बाघ र गैँडा सजिलै अवलोकन गर्न सकिने पर्यावरण पथप्रदर्शक राम शाहीले बताए। विगतमा निकुञ्जमा परिसर मात्र घुमेर फर्कने आन्तरिक पर्यटक आजभोलि निकुञ्जमा हात्ती सफारी, जङ्गल सफारीको समेत मज्जा लिने गरेका छन्।
विभिन्न सङ्घसंस्था, विद्यालयबाट दिनहुँजसो निकुञ्ज अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ। बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणनाअनुसार ३५ वटा गैँडा, ८५ वटा बाघलगायत ४३८ जन्तु, २५ भन्दा बढी घस्रिने र १२१ भन्दा बढी माछाका प्रजाति छन्।तस्बिर:भरतबन्धु थापा
tourist-safari

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *