काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२, देउपुजेको जंगलमा लागेको डढेलो गाउँमा फैलिंदा पाँच घर जलेका छन्।गाईखर्क सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको घर जलेर नष्ट भएको छ।
आगलागीबाट ५३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। धनेश्वर राई र उनका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा तीन तोला सुन, १५ तोला चाँदी नष्ट भएको छ। त्यस्तै केशव राई र मकरबहादुर राईको नगद एक लाख ८० हजार रुपैयाँ सहित अन्य सामग्री जलेको छ।
कविर राईको घर र सबै सामान जलेका छन्। बस्तीको आगो निभाए पनि वनको डढेलो निभाउन सकिएको छैन। घरमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरी लगायतले निभाएका हुन्।
प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार
Comments