काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेका विभिन्न १० रिटलाई एकैसाथ राखी सुनुवाइ हुन लागेको हो ।
हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि यही मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।
सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार
Comments