काठमाडौं । सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताए । साथै मृतक लिम्बूका परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको उनको भनाइ छ ।
प्रवक्ता शर्माले नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताए ।
गएको ५ गते कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको १० गते उपचारका क्रममा ज्यान गएको थियो । उनी कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।
प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार
Comments