काठमाडौं । कोरोना महामारी नियन्त्रणमा आएसँगै दक्षिण कोरियामा फुटबल प्रतियोगिता सुरु भएको छ । यो देशको पहिलो डिभिजन फुटबल के लीग हो । तीन महिनाअघि नै सुरु हुनुपर्ने के लिगको नयाँ सिजन कोरोना भाइरसका त्रासै बीच शुक्रबारबाट सुरु भएको हो। के लिगको उद्घाटन खेलमा जियोन्वुक हुन्डाइ मोटर्स र सुवन ब्लुविङस भिडेका थिए।
जियोन्जु रंगशालामा शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन जियोन्वुकले सुवनलाई १–० ले पराजित गरेको थियो।
शुक्रबार सुरु भएको खेलमा रंगशाला चाहिँ खाली थियो । त्यहाँ पत्रकार, रंगशालाका कर्मचारी र खेल पदाधिकारी मात्र सहभागी थिए ।खेलका क्रममा पदाधिकारी, प्रशिक्षक, कर्मचारी र वैकल्पिक खेलाडीहरूलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको छ। खेललाई टिभीमा प्रत्यक्ष प्रसारण चाहिँ गरिएको थियो ।
कोरोना भाइरसका कारण स्थगित भएका युरोपका दुई ठूला लिग बुन्डेस लिगा र ला लिगा आगामी साताबाट सुरु हुने भएका छन्। बुन्डेस लिगा मे १५ र ला लिगा जुन २० बाट सुरु हुने बताइएको छ।
यता, फ्रेन्च लिग वान र नेदरल्यान्ड्सको डच लिग भने रद्द भइसकेका छन् भने इंग्लिश प्रिमियर लिग र इटालियन सिरी ए पनि चाँडै सुरु गर्ने तयारी भइरहेको छ। एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २७ शनिबार
Comments